'राज्य सुहाउँदो शिक्षा नीति निर्माणका लागि ढिलाइ गर्न हुँदैन'
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व शिक्षामन्त्री दीननाथ शर्माले राज्य सुहाउँदो शिक्षा नीति निर्माणका लागि ढिलाइ गर्न नहुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको भन्दै राज्य सुहाउँदो शिक्षा नीति निर्माण गर्नुपर्ने बताएका हुन् । आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले राजनीतिक परिस्थितिका कारणले सफल नभएको धारणा राखे । त्यस्तै, राम्रो श्रेणीमा पास भएका विद्यार्थीहरू नेपालमा नबसेको बताउँदै उनले यो राष्ट्रिय चिन्ताको विषय रहेको जिकिर गरे ।
त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जिम्मेवार निकायहरुले आ–आफ्नो ठाउँमा सही जिम्मेवारी निर्वाह नगर्दा देशको शैक्षिक उपलब्धि खस्कँदो अवस्थामा पुगेको उल्लेख गरे । अब एकले अर्कोलाई दोष दिनेभन्दा पनि बिग्रिएको ठाउँबाट सुधारको प्रयास थाल्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले तीन वर्षको नतिजालाई तुलनात्मक रुपमा हेर्दा कक्षा १२ को परीक्षाफल राम्रो रहेको बताए । साथै शिक्षा क्षेत्रमा रिवार्ड एण्ड पनिसमेन्टको व्यवस्था नगरेसम्म नतिजा नसुध्रिने उनले बताए ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयमा पठनपाठन भएको छैन भन्ने कुराको परिणाम नतिजाले देखाएको बताए । संसारको अभ्यासलाई हेर्दा विद्यालयस्तरको परीक्षामा ५२ प्रतिशतमात्रै पास हुने कुरा लज्जास्पद रहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया