राजनीति

'मुलुकको शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र समृद्धिको आकांक्षा पूरा गर्ने दायित्वलाई सबैले आत्मसात गर्नुपर्छ'

इकागज |
साउन २३, २०८१ बुधबार १८:३४ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने दायित्वलाई सबैले आत्मसात गर्नुपर्ने बताएका छन् ।

नेपाल जनप्रशासन संघद्वारा बुधबार काठमाडौँमा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने उनले बताए । राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारबाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेसागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गरे ।

उनले पूर्व प्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको समृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गरे ।

सोही समारोहमा यस वर्षको हेमबहादुर मल्ल सम्मान कूटनीतिज्ञ र प्रशासनविद् डा. भेषबहादुर थापालाई अर्पण गरिएको छ । 


Author

थप समाचार
x