वर्तमान विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन् ।
यहाँ स्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकार भाव अति आवश्यक भएकाले बौद्ध शिक्षा अझ सामयिक भएको बताए ।
दम्भको मार्ग त्यागेर मानवीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताए । उनले भने, 'आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ । आफ्नो जिद्दीका लागि निर्दाेष मान्छेमाथि पनि कसले कति बेला कहाँ सशस्त्र आक्रमण गर्ने हो भन्ने भयको वातावरणमा बस्नुपरेको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।' उनले परस्पर बेमेल र अशान्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनाश मात्रै निम्त्याउने धारणा व्यक्त गरे ।
विहारका प्रमुख धम्मवतीले प्रधानमन्त्रीको आरोग्यको कामना गर्दै उनको नेतृत्वमा देश समृद्धिको पथमा अग्रसर हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया