राजनीति

अन्तर्राष्ट्रिय समिति

तारागाउँ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने सांसदहरूको माग

इकागज |
साउन २७, २०८१ आइतबार १५:१६ बजे

काठमाडौँ- सांसदहरूले तारागाउँ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्नुपर्ने धारणा राखेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् । तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिले लगानी गरे पनि प्रतिफल आउन नसकेको उनीहरूको भनाइ छ ।


बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले होटेल हायातले तारागाउँ विकास समितिको जग्गालाई एकलौटी बनाउन खोजेको र राज्यको शेयर २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिएको बताए । उनले राज्यले लाभांश नपाउने अवस्थाको अध्ययन हुनुपर्ने बताए । यसमा सरकारको स्पष्ट दृष्टिकोण समेत आउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य नेमकिपा सांसद प्रेम सुवालले तारागाउँ विकास समितिले गरेको लगानीका बारेमा यसअघिका समेत सबै मन्त्री, प्रधानमन्त्रीहरूलाई जानकारी रहेको भन्दै सबैलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताए । उनले सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिने काम गम्भीर रहेको उल्लेख गरे ।

समिति सभापति राजकिशोर यादवले तारागाउँ र होटलबीच भएको लिग सम्झौताका विषयमा पर्यटन मन्त्रालयले कार्ययोजना बनाउने र त्यसआधारमा अर्को बैठकमा छलफल गर्ने बताए । तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारले गरेको लगानी प्रतिफलमा बदल्न सक्ने गरी समाधानका योजना सहित आउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।


Author

थप समाचार
x