राजनीति

श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

इकागज |
साउन २७, २०८१ आइतबार १७:१७ बजे

काठमाडौँ- श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेको छ ।

आइतबार सिंहदरबारका कार्यदल संयोजक श्रम विज्ञ डा. गणेश गुरुङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरतसिंह भण्डारीलाई श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारमा जाने कामदारको हकहित रक्षाका लागि आवश्यक संयन्त्र बनाउने गरि मन्त्रालयले श्रम आप्रवासन नीति बनाउन लागेको हो ।


हस्तान्तरण कार्यक्रममा मन्त्री सिंहले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले श्रम आप्रवासन नीति बनाउन लागिएको बताए । उनले प्राथमिकताका आधारमा नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जाने व्यवस्थाका साथै वैदेशिक रोजगारमा जानु अघिको प्रक्रियालाई समेत व्यवस्थित गर्ने गरी नीति तयार गर्ने जिकिर गरे । सम्मानपूर्वक श्रम गरेको मूल्य पनि सम्मानजनक हुनुपर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।

श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गर्दै कार्यदल संयोजक गुरुङले मस्यौदा बनाउँदा अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका निकायहरूसँग सुझाव लिएको बताए । श्रम रोजगारको क्षेत्रमा बिज्ञता हासिल गर्दै नीतिको मस्यौदा तयार गरिएको उनको भनाइ छ ।

स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउँदै श्रम आप्रवासन नीतिलाई अन्तिम रूप दिन मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x