राजनीति

मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँछौं : गृहमन्त्री लेखक

इकागज |
साउन २७, २०८१ आइतबार १७:२४ बजे

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो लगायत मनसुनजन्य घटनाको पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उनले दीर्घकालीन रूपमा नै मनसुनजन्य घटनाको पूर्वतयारीलाई बलियो तथा प्रभावकारी बनाउने र यसका लागि राज्यका संयन्त्रहरूलाई थप जिम्मेवार बनाइने बताएका हुन् ।


गृहमन्त्रीले यस वर्ष अत्यधिक वर्षा हुँदा तुलनात्मक रूपमा यसअघि भन्दा कम क्षति हुनुको कारण पूर्व तयारी रहेको जिकिर गरे ।​

उनले सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको अध्ययन भइरहेको भन्दै त्यसका सुझावका आधारमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाए । विकास गर्दा आधारभूत मापदण्ड पालना नगर्दा भविष्यमा ठूलो क्षति हुने गरेको भन्दै उनले विकासका कामको मापदण्डमा छलफलको आवश्यकता रहेको धारणा राखे ।

बैठकले बाढी, पहिरो लगायत मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारवाही तथा सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका विषयमा गृहमन्त्रीसँग छलफल गरेको हो । 


Author

थप समाचार
x