मिडिया काउन्सिल विधेयक दफावार छलफलको अन्तिम चरणमा
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि संस्थामा कार्यकारी अध्यक्षसँगै महाप्रबन्धक पनि रहने व्यवस्थाले संस्थाको हित नभई द्वन्द्व निम्त्याउने पक्षलाई ऐन कानुन निर्माणकै बखत हेक्का राख्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको मिडिया काउन्सिल विधेयकमाथिको दफावार छलफलमा संशोधनकर्ता र समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले एउटै संस्थामा दुवै व्यक्तिको भूमिका एकैखाले हुने व्यवस्थाले लक्षित नतिजा दिन नसक्ने पुष्टि भइसकेको प्रतिक्रिया दिए । उनले भने, 'प्राकृतिक नियमका आधारमा पनि एउटै संस्थामा दुईवटा प्रमुख रहने व्यवस्था अमिल्दो हुन्छ, केही सञ्चार संस्थामै त्यो समस्या छ ।'
समितिमा विधेयकमाथि संशोधनकर्तासहितको उपस्थितिमा दफावार छलफल अन्तिम चरणमा पुगेको छ ।
समिति सदस्य डा बेदुराम भुसालले विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा पुगेको बताए । उनले भने, 'केही दिनभित्रै यो छलफल सकिन्छ, अनि प्रतिवेदन तयारीमा जान्छौँ ।'
मिडिया काउन्सिलमा रहने अध्यक्ष र सदस्य छनोट सिफारिस समिति कस्तो बनाउने भन्ने छलफल भने बाँकी नै रहेको उनको भनाइ छ । काउन्सिल आमसञ्चार माध्यमलाई नियमन गर्ने हालको प्रेस काउन्सिल जस्तै भए पनि यसको दायरा फराकिलो हुने सदस्य डा भुसालले बताए ।
समिति सचिव मनोजकुमार गिरीले दफावार छलफल अन्तिम चरणमा पुगेका आगामी दुई/तीन वटा बैठकबाट टुङ्गिएपछि प्रतिवेदन तयार गरी सभामा प्रस्तुत गर्ने जानकारी दिए ।
'यसबीचमा विधेयकमाथि दफावार छलफलका लागि एक दर्जनभन्दा बढी बैठक बसिसकेको छ । अब बस्ने दुई वटा बैठकमा दफावार छलफल पूरा हुन्छ । त्यसपछि समिति प्रतिवेदन तयारीको चरणमा प्रवेश गर्नेछ,' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया