Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

राजनीति

नगरसभा बस्नुपर्ने माग गर्दै वडाध्यक्ष आन्दोलित

इकागज |
साउन २९, २०८१ मंगलबार ६:३१ बजे

फाइल फाेटाे

सिराहा - सिराहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशीघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै बहुसङ्ख्यक वडाध्यक्षले संयुक्त रूपमा तीन सुत्रीय मागअघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् ।  

विज्ञप्तिमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्या समाधान गर्न यथाशीघ्र कार्यपालिका बैठक आह्वान गर्नुपर्ने र नगरसभाको मिति तय गर्नुपर्ने माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । नगरपालिकाका १४ वडाध्यक्षमध्ये १० जना यस्तो संयुक्त हस्ताक्षरसहित यस्तो माग गरेका हुन् ।  


वडा नं ९ का अध्यक्ष प्रकाश योञ्जनले माग पूरा नभए थप आन्दोलन गर्न बाध्य हुने बताए । उनले भने, “हालसम्म नगरसभा नबस्दा चालु आर्थिक वर्षको बजेटसमेत प्रस्तुत भएको छैन । यसले गर्दा नगनगरपालिकाको दैनिक सेवा प्रवाह र प्रशासनिक कार्य प्रभावित भएको छ । त्यसैले आन्दोलन गर्नुपर्ने अवस्था आएको हो ।” 

यहाँ नगर कार्यपालिका सदस्य र नगरप्रमुखबीच विवाद हुँदा पटक-टपक नगरसभा स्थगित हुँदै आएको छ । नगरपालिकाको बजेट खर्चसहित हिसाब किताब मागेपछि नगरप्रमुख शिवशंकर महतोले नगरसभा गर्न आलटाल गर्दै आएको वडाध्यक्षहरूको आरोप छ । 
रासस


Author

थप समाचार
x