राजनीति

पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ : प्रचण्ड

इकागज |
भदौ २, २०८१ आइतबार १२:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् ।

विसं २०५१ सालमा शहीद भएका तत्कालीन एकता-केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।


कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताए ।

उनले भने, 'रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्वपूर्ण भूमिका खेल्नुभयो ।'

अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।

अध्यक्ष प्रचण्डले भने, 'जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन । हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ । यो अपवित्र छ, यसको उद्देश्य गलत छ । पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ ।'

उनले थपे, 'स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ ।'

कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू थिए ।


Author

थप समाचार
x