राजनीति

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : मन्त्री राणा

इकागज |
भदौ १३, २०८१ बिहीबार १३:३३ बजे

फाइल फोटो

सुदूरपश्चिम - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताएकी छिन् ।

धनगढीस्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित  पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं संकटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गर्नुपरेको स्पष्ट पारिन् । स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने संकल्प लिएर वर्तमान सरकार गठन भएको उनले स्पष्ट पारिन् । 


मन्त्री राणाले भनिन्, 'दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा संकट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।' राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने उहाँले प्रतिबद्धता व्यक्त गरिन् । 

अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त  सहयोग गर्न चाहेको बताइन् । कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उनको भनाइ थियो । मन्त्री राणाले भनिन्, 'नेपालको संविधानको मूल मर्म र भावनालाई परिवर्तन नगरेर सरकारले संविधानको ‘रिभ्यू’ गर्नेछ ।'

संविधान शान्तिको दस्तावेजका रुपमा लिइएकाले संविधानमा विविधता, समावेशिताजस्ता कुरामा परिवर्तन नहुने उनले बताइन् । आफ्नो हालैको भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेल्धुराको परशुराममा पक्की पुल निर्माण गर्नेबारे कुरा भएको जानकारी दिइन् । 

उनले भनिन्, 'धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला बनाउन भारतीय पक्ष सकारात्मक छ, भारतका परराष्ट्रमन्त्रीले पनि यसबारे बिसिसिआई (भारतीय क्रिकेट कन्ट्रोल बोर्ड)सित कुरा गर्नुभएको छ ।'

गौरीफन्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिँचाइका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताइन् । इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि सरकारले गम्भीर रुपमा पहल गरिरहेको उनले बताइन् । गौरा पर्वका अवसरमा गौरा महेश्वरको पूजाअर्चनाका लागि परराष्ट्रमन्त्री राणा धनगढी आएकी हुन् । 
 


Author

थप समाचार
x