राजनीति

डा प्रकाशशरण महतको आग्रह - नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउनूस्

इकागज |
भदौ २९, २०८१ शनिबार १९:२८ बजे

फाइल फाेटाे

नुवाकोट - पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।

 नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवम् बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण रहेको दाबी गरे ।


'कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,' उनले भने, 'उत्पादित सामग्री बजारसम्म पुर्याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हुँदै आएको छ ।'

पछिल्ला वर्षमा युवा वर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको भन्दै पूर्वमन्त्री डा महतले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गरे । युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहेनतले गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उनको धारणा थियो । 'कृषि उब्जनीले बजार पाउन समस्या छैन । सरकारी अनुदान र सहयोगका कार्यक्रमहरू पनि क्रमशः वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा सडक स्तरोन्नति हुँदैछन् । काठमाडौँलाई जोड्न सुरुङमार्ग विस्तारको काम भइरहेको छ । गाउँ, जिल्ला हुँदै देशमा क्रमशः विकासको गतिविधि बढ्दै गएको छ । काठमाडौँबाट नजिकको जिल्ला भएकाले यहीबाट विदेश जाने होइन अब स्वदेश फर्कनुपर्छ भन्ने लहर चलाउन लाग्नुपर्छ', डा महतले भने । 

विदेशी मुद्राका लागि विदेश जाने नभइ विदेशी पर्यटकलाई नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उनको भनाइ छ । त्यसका लागि सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा महतले स्पष्टोक्ति थियो ।  
 


Author

थप समाचार
x