राजनीति

खुमलटारमा 'ब्ल्याक टि टक' : रवीन्द्र मिश्रलाई अर्थपूर्ण लागेको प्रचण्डको ७ कुरा

इकागज |
असोज ८, २०८१ मंगलबार १२:३२ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र खुमलटार पुगेका छन् । मंगलबार बिहान प्रचण्डलाई भेट्‌न मिश्र खुमलटार पुगेका हुन् ।

सोमबार एउटा कार्यक्रममा भेटेर आज बिहान प्रचण्ड निवासमा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।


आफूले प्रचण्डलाई अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था'तिर उन्मुख हुँदैछ । र त्यतिबेला तपाईंहरूको 'अग्रगमन', नाम र सालिक केही बाँकी नरहने बताएको उल्लेख गरेका छन् ।

प्रचण्डको केहि टिप्पणी अर्थपूर्ण लागेको बताएका छन् ।

मिश्रलाई अर्थपूर्ण लागेको प्रचण्डको ७ कुरा
- यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।
- पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्‍चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन् ।
- द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ । 
- राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलन ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।
- देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।
- अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनुपर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।
- म अहिले नै तपाईंको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो ।

'कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए । सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए । तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए' मिश्रले लेखेका छन् 'उनीहरूको जीवन पर्खिएरै बीतिसकेको छ/बित्नेछ भन्नेमा सम्भवत: उनीहरू अनभिज्ञ थिए । म चाहिँ 'ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु' भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।'


Author

थप समाचार
x