राजनीति

मन्त्रीको निर्देशन: फोहोर पानी प्रशोधन केन्द्र निर्माण समयमै पूरा गर्नूस्

इकागज |
असोज ८, २०८१ मंगलबार १६:२१ बजे

ललितपुर - खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। काठमाडौं उपत्यकाको सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको समस्या समाधानका लागि यो परियोजना महत्त्वपूर्ण भएको बताउँदै मन्त्री यादवले यसलाई समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन जोड दिए।

उपत्यकाका मुख्य नदीहरूमा प्रवाहित फोहोर पानीको व्यवस्थापनमा सुधार ल्याउने र वातावरणीय स्वच्छता कायम राख्न यो परियोजनाले दीर्घकालीन योगदान पुर्‍याउने उनको भनाइ थियो। "फोहोर पानी प्रशोधन केन्द्रहरूको प्रभावकारी सञ्चालनले उपत्यकामा पानीको गुणस्तर सुधार र जनस्वास्थ्यमा समेत उल्लेखनीय सुधार हुनेछ," मन्त्री यादवले भने।


निर्माणस्थलको निरीक्षणपश्चात मन्त्री यादवले निर्माण कम्पनीलाई तोकिएको समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए। बालकुमारी (कोड्कु) स्थित अर्को फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षण गर्दै उनले हालसम्मको प्रगतिबारे जानकारी लिँदै निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिए।

सचिव इ प्रमीलादेवी शाक्य बज्राचार्य, सह–सचिव रमाकान्त दुवाडी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक टिकाबहादुर चौधरीलगायतको उपस्थिति रहेको उक्त निरीक्षणमा मन्त्री यादवले मन्त्रालयबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। "सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्य सुधारका लागि यस्ता परियोजनाहरूलाई उच्च प्राथमिकतामा राखेको छ," उनले भने।

फोहोर पानी प्रशोधन केन्द्रहरू सञ्चालनमा आएपछि उपत्यकाका विभिन्न क्षेत्रका बासिन्दालाई स्वच्छ र सुरक्षित वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।


Author

थप समाचार
x