राजनीति

जनताप्रति सरकारको चरम उदासीनता, राजधानीमै उद्धारको प्रतिक्षा गर्दागर्दै ज्यान गुमाउनु पर्‍यो : प्रचण्ड

इकागज |
असोज १३, २०८१ आइतबार ११:२२ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुन:स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । 


'केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्‌मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ' प्रचण्डले भनेका छन् 'राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।' 

'अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुन:स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुन:स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु' विज्ञप्तिमा भनेका छन् 'भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।'

अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरूका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरू उद्धार र पुन:स्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरू सबैलाई धन्यवाद दिँदै बेपत्ता नगारिकको खोजी, विस्थापितहरूको पुन:स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु' उनले भनेका छन् ।


Author

थप समाचार
x