राजनीति

सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन

इकागज |
असोज १५, २०८१ मंगलबार २०:३ बजे

फाइल फाेटाे

काठमाडौँ  - खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरीबाट ललितपुरको सैँबुमा ल्याइने सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सिस्नेरी खानेपानी आयोजनाको अध्ययनसम्बन्धी हालसम्मको प्रगति प्रस्तुति कारण तथा छलफलबारे आज आयोजना गरेको कार्यक्रममा उनले सिस्नेरी खानेपानी आयोजनाका काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिए । 


मन्त्री यादवले भने, “उपत्यकावासीका १२ महिना पानी खान पाउने सपना पूरा हुन सकेका छैनन्, अब हामीले सिस्नेरीको पानी उपत्यकामा पुर्‍याएर यहाँका जनताको सपना सकार गर्नु आवश्यक छ, सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउनुहोस् ।” उनले सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्रालयको पूर्ण सहयोग रहने आश्वासन समेत दिए ।

मन्त्री यादवले भने, “तपाईंहरू सिस्ने खानेपानी आयोजनाका बाँकी गर्नुपर्ने काम अगाडि बढाउनुस्, मन्त्रालयको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुन्छ ।” काठमाडौँमा पानीको निकै अभाव हुँदै गएको र मेलम्चीको पानी यहाँका जनतालाई पुर्‍याउन नसकेको बताउँदै उनले भने, “विभिन्न समस्याका कारण हामीलाई काठमाडौँ उपत्यकाका नागरिकलाई पानी उपलब्ध गराउन निकै समस्या हुँदै आएको छ, यो बेलामा हामीले सबै कुराको आट गरेर जनतालाई पानी दिन सक्नुपर्छ ।”

राज्यले नागरिकका हकमा दीर्घकालीन खानेपानीका योजना बनाउन सक्ने भएकाले खानेपानीका आयोजनाका विषयमा आउने नकारात्मक टीकाटिप्पणीका बारेमा कुनै प्रवाह नगरी आफ्नो काममा निरन्तर लागिपर्न मन्त्री यादवले आज कर्मचारीलाई निर्देशन दिए । 

 उपत्यकाबाट करिब १९ किमी दूरीमा रहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा बाँध बनाइ कोगटे खोलाको पानी समेतलाई जम्मा गरी पम्पका माध्यमबाट पानी प्रशोधन केन्द्रसम्म पुर्‍याउने काम अन्तिम चरणमा रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन सञ्जिवविक्रम राणाले जानकारी दिए । रासस


Author

थप समाचार
x