राजनीति

रक्षा सचिव पाण्डे बिहीबारदेखि अवकाश हुँदै

बीसथरि घोडचढी शासकको समष्टीगत औसत रूप हो, कर्मचारीतन्त्र : सचिव पाण्डे

इकागज |
असार १६, २०७८ बुधबार १४:५४ बजे

काठमाडौँ : रक्षा सचिव रेश्मीराज पाण्डे उमेर हदका कारण बिहीबारदेखि अवकाश हुँदैछन् । यद्यपि उनले रक्षा मन्त्रालयबाट बुधबार नै बिदाइँ लिँदैछन् । 

उनी कहीँ-विवादमा तानिएनन् । उनी चार वर्षसम्म सचिव भए । उनी कर्मचारीतन्त्रमा ‘साइलेन्ट सचिव’का रूपमा चिनिन्थे । उनी सरकारी सेवामा ३८ वर्ष १० महिना १६ दिन कार्यरत रहे । उनी आइकम पढ्दै खरदारबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । त्यसपछि २०४४ मा शाखा अधिकृत पास गरेका थिए । उनीसँगै शाखा अधिकृत भएकाहरू कोही अवकाशमा गइसकेका छन् भने कसैले संवैधानिक अंगमा नियुक्ति पाइसकेका छन् ।


उनका समकालीनहरू चाहिँ खुला प्रतिस्पर्धाबाट छिट्टै सहसचिव बनेका थिए । तर पाण्डे चाहिँ उपसचिवकै पदमा १३ वर्षसम्म रमाए । अर्थात्, सहसचिवको खुला प्रतिस्पर्धामा जाँच पनि दिएनन् । उनी नियमित बढुवामै सहसचिव भएका हुन् । उनकै शब्दमा, ‘मैले इच्छापूर्वक समकालीन साथीहरूभन्दा जुनियर बन्‍न रुचाएको हुँ । त्यसकारण मेरो कहीँ कतै र कसैसँग कुनै गुनासो छैन । मसँगै उपसचिव भएकाहरू मुख्यसचिव भए, म भइनँ भन्ने पनि गुनासो रहेन ।’

पाण्डे स्याङ्जाबासी हुन् । उनी भन्छन्, ‘गाउँमा हुर्केर घाँस काट्ने ठाउँबाट सचिव हुनु आफैँमा ठूलो कुरा हो । त्यसकारण गुनासो गर्नुको कुनै कारण छैन ।’

पाण्डे कर्मचारीतन्त्रमा लामो अनुभव बोक्नेमा पर्छन् । उनीहरुसँग लामो अनुभव छ । कर्मचारीतन्त्रमा भोगाईँको निस्कर्ष चाहिँ के रह्यो भन्ने प्रश्नमा पाण्डेको जवाफ थियो, ‘हाम्रो कर्मचारीतन्त्रमा आज जे छ, जे भएको छ, त्यो एकै दिन भएको होइन । प्रशासन एकै रातमा राम्रो या नराम्रो भन्ने हुँदैन ।’

‘यसमा बीस थरि शासकहरुले घोडा चढ्ने र ती घोडचढी मालिकहरुको स्वभावसँग घुलमिल हुँदै आएको तिनै घोडचढीको समष्टीगतको औसत रुप हो’ पाण्डेले इकागजसँग भने, ‘तिनै घोडचढीहरुको औसत रूप-चरित्र पनि हो । त्यसकारण अलिकति प्रशासनरुपी घोडा चाहिँ रोगी छ । यति हुँदा पनि यसले दक्षिण एसिया र अरु मुलुकको तुलनामा सेवा दिन कुनै हिसाबले पनि कमजोर छैन ।’
 


Author

थप समाचार
x