राजनीति

ज्योति गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस

इकागज |
कात्तिक ६, २०८१ मंगलबार १५:२० बजे

काठमाडौं - ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।​

सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ ।


सीआइबीले सहकारी ठगीको आरोप लागेकी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस गरेको हो । मितेरी सहकारीले बचतकर्ताको १२ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । सोही सहकारीकी ज्योतिबहादुर भण्डारीविरुद्ध पनि रेड नोटिस माग गरिएको छ । बर्दियाका भण्डारीसँग मिलेमतो गरेर गुरुङले सहकारीको रकम हिनामिना गरेको पाइएको छ ।

ज्योति कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्व श्रीमती हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ ।

सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ । सो ऋण तिर्न धनराजले भाटभटेनीका मालिक मीनबहादुर गुरुङसँग ९२ लाख लिएको विषय समेत बाहिरिएको छ ।

मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । 


Author

थप समाचार
x