राजनीति

कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन स्वास्थ्यमन्त्री पौडलको आग्रह

इकागज |
कात्तिक २८, २०८१ बुधबार १७:१३ बजे

फाइल फाेटाे

जुम्ला - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिएका छन् । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको  प्रथम दीक्षान्त समारोहमा उनले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन  प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिए । 

उनले भने, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्ने गरी काम गर्न आवश्यक छ ।  मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्राथमिकतामा राखेको छ ।” स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिए । 


संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहेका सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत बहादुर भण्डारीले जानकारी दिए ।  दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो ।  

सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नव निर्मित शैक्षिक भवन उद्घाटन गरेका थिए । 


Author

थप समाचार
x