राजनीति

धनराज गुरुङसँग सिआइबीले लियो बयान

इकागज |
कात्तिक २८, २०८१ बुधबार १८:१४ बजे

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले सहकारीको रकम अपचलन बारे बयान लिएको छ ।

सिआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो । 


सिआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नी ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धी सोधपुछ गरेको बताइएको छ ।

गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ साल देखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन ।

ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिएका थिए । धनराज आफैले ज्योतिसँग सम्बन्धविच्छेद हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमति भएको बताएका छन् । धनराजले आफू सहकारीका जोडिनु र श्रीमतीसँग भएको सम्बन्धविच्छेद बारे बयान दिएको बुझिएको छ ।

सहकारी सम्बन्धी छानबिन गर्न बनेको विशेष समितिले पनि आफ्नो प्रतिवेदनमा धनराज माथि छानबिन गर्नु पर्ने राय दिएको थियो ।

उनको पूर्वपत्नी ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारी विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भइसकेको छ । मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीको आधारमा धनराजमाथि छानबिन सुरु भएको हो ।


Author

थप समाचार
x