राजनीति

रवि लामिछानेको दोस्रो दिनको बयान सकियो

इकागज |
कात्तिक २८, २०८१ बुधबार २०:३२ बजे

भैरहवा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बुधबारको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुधबार बिहान सवा १० बजेदेखि करिब ८ घण्टा बयान लिइएको थियो । 

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले दोस्रो दिन लिएको बयान सकिएको छ भने अब बिहीबार बिहान १० बजेदेखि पुन: बयान लिइने भएको छ  ।


मंगलबारको बयान सकेर निस्किने क्रममा लामिछानेले ‘बाघ खोरमा थुनेर स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि बुधबार भने उनलाई बोल्न नमिल्ने गरि सुरक्षाकर्मीले घेरा हालेर बाहिर निकालेका थिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको छुट्टै हिरासत कक्षमा राखिएको छ ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगी मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।


Author

थप समाचार
x