राजनीति

हाम्रो सरकारी निकाय धेरै खर्चालु भयो, ढिलो भयो - सञ्चारमन्त्री गुरुङ

इकागज |
मंसिर १२, २०८१ बुधबार १९:२५ बजे

फाइल फाेटाे

गण्डकी - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा आज पोखरामा आयोजित ‘विद्युतीय हस्ताक्षरसम्बन्धी जानकारी’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइने बताए । 


 प्रविधिको प्रयोगमार्फत सबै स्थानीय तह, प्रदेश सरकार एवं सरकारका सबै मन्त्रालयलाई एकै किसिमको प्रणालीमा लैजाने कुरामा जोड दिइएको उनले बताए । “हामीले सरकारी क्षेत्रमा तथ्याङ्क व्यवस्थित गर्नु जरुरी छ”, उनले भने, “हाम्रो सरकारी निकाय धेरै खर्चालु भयो, ढिलो भयो भन्ने गुनासालाई ई–गभरनेन्सका माध्यमबाट समाधान गर्न सकिन्छ ।”

उनले व्यवस्था परिवर्तनसँगै कार्यशैलीमा पनि परिवर्तन  जरुरी रहेको बताए । अधिकारको बाँडफाँट गरे पनि काम बाँड्न नसकेको बताउँदै उनले भने, “हामीले अधिकार बाँड्यौँ, काम बाँड्न जानेनौँ, समस्या त्यहाँनेर छ”, उनले भने, “अधिकार बाँडेपछि काम दिनुपर्छ, काममा बजेट छ, कार्यक्रम छ, यसको व्यवस्थापनमा हामी लागेका छौँ ।”

विश्वका विकसित देशको विकासमा सूचना प्रविधि क्षेत्रको ठूलो योगदान रहेको बताउँदै उनले त्यस क्षेत्रमा मुलुक धेरैपछि परिसकेको बताए । खुला समाज, प्रजातान्त्रिक मुलुक, आदिका कारण सूचना प्रविधिका क्षेत्रमा नेपालमा सम्भावना रहेको उनको भनाइ छ ।

विद्यमान ऐन कानुन समयसापेक्ष रुपमा परिवर्तन गर्न जरुरी भएको बताउँदै मन्त्री गुरुङले सुशासन एवं जनताले अनुभूति गर्ने किसिमको प्रणाली व्यवस्थापन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

 


Author

थप समाचार
x