राजनीति

‘अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ’

इकागज |
मंसिर २९, २०८१ शनिबार १५:५ बजे

फाइल फाेटाे

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आज यहाँ आयोजित १५औँ वार्षिक साधारणसभामा उहाँले अस्थिर राजनीतिको प्रतिच्छायाले अर्थतन्त्र ओझेलमा परेको बताए । 


सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीले समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै राजस्व संकलन र खर्च प्रणालीमा समस्या देखिएकाले सोको समाधानका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए । 

“राजस्व लक्ष्यअनुसार सङ्कलन हुन सकेको छैन । भन्सारमा आधारित राजस्व प्रणाली रहेकाले मागमा कमी आउँदा सङ्कलन घट्नुका साथै पुँजीगत खर्च पनि कमजोर भएको छ”, उनले भने । खर्च प्रणालीलाई व्यवस्थित र सहज बनाउन सार्वजनिक खरिद ऐन संशोधनका लागि प्रयास भइरहेको सञ्चारमन्त्रीले बताए । दूग्ध र उखु किसानलाई सरकारले यथाशीघ्र भुक्तानी दिने उनले जानकारी दिए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताको मनोबल बढाउन सरकारस्तरमा भएका प्रयासको सर्हाना गर्दै निजी क्षेत्रले पनि सरकारसँग साझेदारी गर्ने बताए । उनले उद्योगी–व्यवसायी बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने स्थिति उत्पन्न हुन नदिन सरकारले बनाएका नीति प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष र सरोकार भएका निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए । 

 


Author

थप समाचार
x