राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेः अध्यक्ष प्रचण्ड
रुपन्देही - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन ।
अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गएँ, त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन ।प्रतिक्रियावादी जालि झेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन् । हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं, भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्दिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइ सकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले अगाडि भने, ‘जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ।’
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनको दाबी छ । आफू सरकारमा रहँदा भ्रष्टाचार विरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्दै दूरगामी रूपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेकोसमेत उनले दाबी गरेका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘म सरकारमा रहँदा भ्रष्टाचारीहरूलाई कारबाही अगाडि बढाए। धेरै राजनीतिक नेताहरू, ठूला ठूला कर्मचारी, भूमाफियाहरूलाई कारबाही गरी राज्यको सम्पति जनताको हातमा ल्याउने काम गरे । भ्रष्टाचारीहरुहरूविरुद्धको कारबाही अगाडि बढाउँदा म प्रचण्ड नै अगाडि देखिए त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो । मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मेहनते गरियो। त्यसैगरी विदेशमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो । अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो।’
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उनले दिएका छन् ।
देशको निम्ति, उत्पीडित वर्ग समुदायको निम्ति, राष्ट्रको स्वाधीनता र एकताको रक्षाका निम्ति, संविधानको रक्षाको निम्ति, सबै उत्पीडित वर्ग समुदाय, किसान मजदुरको हक र हितको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउनुपर्छ भन्ने कुरा जनता र माओवादी केन्द्रसँग एकताको प्रक्रियामा आउने र आउन चाहेका सबैमा पर्दै गएको उनले जनाए ।
अध्यक्ष प्रचण्डले भने, ‘म खुसी व्यक्त गर्न चाहन्छु हाम्रो पार्टीमा विभिन्न पार्टीका नेताहरू प्रवेश गर्ने लहरले माओवादी केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको छ। ठूलो बलिदान मार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेका छौं। जनताले पाएको अधिकार खोस्न खोजिएको छ हामी त्यसो हुन दिँदैनौं ।’
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेताकार्यकर्ताको ठूलो टिम माओवादी केन्द्रमा समाहित भएको थियो । साथै, काँग्रेस एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया