पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि
फाइल फोटो
काठमाडौँ- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आज पनि बयान हुने भएको छ ।
सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान हिजोबाट सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । उनका अनुसार लामिछानेको बाँकी बयान आज पनि हुनेछ ।
सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । सोहीबीचमा उनी संघीय संसद्को सांसद पदबाट निलम्बन भइसकेका छन् ।
मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो ।
जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा लिएको बयान लिइएको थियो । छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको थियो ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रविलगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । सोही अभियोगमा ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । रवि पक्राउ परेको ९२औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो। १८ असोज२०८० मा राईलगायतको समूहविरुद्ध मुद्दा दायर भएको थियो ।
प्रहरीले ६५ जनालाई प्रतिवादी कायम गर्न राय दिएपनि सरकारी वकिलको कार्यालयले भने प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ । लामिछानेसहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न माग दाबी लिनुपर्ने राय दिएको थियो ।
रवि लामिछाने र जीवी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया