राजनीति

सरकारले हल्ला होइन, काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह

इकागज |
पुस २१, २०८१ आइतबार १३:३१ बजे

सुनसरी- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन ।

आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजनामा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सरकार गठनका बेला भएको सहमति अनुसारनै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने उनको दाबी छ ।


सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेको दाबी गर्दै तत्काल सरकार परिवर्तन नहुने दाबी पनि उनको छ । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओली पछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले दाबी गरे । 

‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्कता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो भन्दा अगाडीको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’ 

त्यस्तै, उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेकोसमेत बताए । अहिलेको सरकारले यस अघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए । जनचाहनाअनुसार आर्थिक समृद्धि र  विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो ।
 


Author

थप समाचार
x