लिङ्देन नेतृत्व असफल भएको पूर्वराजा र शीर्ष नेताको निष्कर्ष
फाइल फाेटाे
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमता माथि प्रश्न उठाउन सुरू गरिएको छ ।
स्थानीय तहका उप निर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देन माथि प्रश्न उठाउन सुरू गरिएको हो । उनीहरू लिङ्देन नेतृत्वमा आए पछि पार्टीलाई झन क्षति पुगेको निष्कर्षका साथ आगामी केन्द्रीय समितिमा प्रस्तुत हुने भएका छन् ।
आगामी माघ ११–१२ गते बस्न गइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेको थाहा हुन आएको छ ।
हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको जनाए पछि पार्टी भित्र नयाँ शिराबाट बहस सुरु हुन थालेको छ । ‘स्थानीय तहको उप निर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यो सिंगो राप्रपा पंक्तिलाई निराश बनाएको छ, व्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनेका थिए ।
तर, अध्यक्ष लिङ्देन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरे पछि बैठकमा अन्य नेताले भने निकै आपत्ति जनाएका थिए । सो मत घटेको र बढेको बिषयमा केन्द्रिय कार्य सम्पादन समितिमा भने निकै बहस भएको जनाइएको छ ।
‘ज्ञानेन्द्रजीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत बढेको भनेर तर्क गरे पनि राप्रपाले सबै स्थानीय तहमा गरी जम्मा ३ हजार ७१ मत मात्रै प्राप्त गरेको
तथ्यांकले नै देखाएको छ, सबै स्थानीय तहमा लज्जास्पद रूपमा जमानत जफत भएको छ,’ ती असन्तुष्ट पदाधिकारीले भने, ‘अब यो विषय केन्द्रीय समिति बैठकमा उठनेछ ।’
लिङदेनको जिल्लाबाट जम्मा २६ मत
उनका अनुसार स्थानीय तहका निर्वाचनमा केन्द्रीय कमाण्डर अर्थात अध्यक्ष लिङदेनले आफ्नै गृह जिल्लामा भएको निर्वाचनमा जम्मा २६ मत मात्रै जोड्न सकेका छन । लिङ्देनको गृह जिल्ला झापास्थित जिल्ला कन्काइ नपा–६ का वडा अध्यक्षका उम्मेदवार केशबबहादुर ओझाले जम्मा २६ मत मात्रै ल्याए पछि लिङ्देनको नेतृत्व माथि थप प्रश्न उठेको हो । त्यहाँ लिङदेनले पार्टी प्रवक्ता तथा प्रदेश सांसद भक्ति सिटौलालाइ चुनावी कमाण्डर बनाएका थिए ।
‘कतिसम्म भने राप्रपाको वडा समिति ५१ सदस्यीय हुन्छ तर अध्यक्षको गृह जिल्लाको वडा अध्यक्षले जम्मा २६ मत मात्रै पाउँछन् , उसो भए ४९ सदस्यको मत राप्रपाको खोइ त ?’ एक पदाधिकारीले प्रश्न गरेका छन्, ‘जुलुसमा सहभागी मात्रैले भोट हालेको भएँ, ५ सय मत नाघ्थ्यो तर कसैले हालेनन्, किन ? यो प्रश्नको जवाफ अध्यक्षले अब केन्द्रीय समितिमा दिनु पर्छ ।’ आफ्नै गृह जिल्लामा ५० मत कटाउने नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि पार्टीमा समस्या देखा परिरहेको उनीहरूको तर्क छ ।
६ स्थानीय तहमा दोहोरो अंकमा आएन भोट
त्यसो त स्थानीय तहका ६ जना उम्मेदवारले त दोहोरो अंकमा पनि मत ल्याउन सकेनौ । जस्तो कि, तेह्रथुमको लालिगुराँस–८ का वडा अध्यक्षका उम्मेदवारले जम्मा ४ मत, ओखलढुंगा मोलुङ–५ का वडा अध्यक्ष ३ मत, उदयपुर त्रियुगा–१२ का वडा अध्यक्षले ७ मत, सुनसरी डाक्नेश्वरी–४ का वडा अध्यक्षले ६ मत, महोत्तरी रामगोपालपुर–२ का वडा अध्यक्षले २ मत, गुल्मी मुसिकोट–१ का वडा अध्यक्ष ५ मत, जाजरकोट, कुसेँ गाउँपालाका–७ का वडा अध्यक्षले ८ मत मात्रै पाएका थिए ।
सहरिया मतदाताको विकर्षण
उसो त, राप्रपाको सहरिया मतदाताको पनि आकर्षण कम भएको छ । कमल थापाको नेतृत्वको राप्रपा नेपालले काठमाडौं उपत्यकामा उल्लेखनीय मत प्राप्त गरेको थियो तर लिङ्देन नेतृत्व हुँदा कीर्तिपुरमा पार्टीका उम्मेदवारले जम्मा ९९५ मत मात्रै प्राप्त गरे भने वडा अध्यक्षका उम्मेदवार ६४ मतमा सीमित हुन परे पछि राप्रपामा भाँडभैलो मच्चिएको छ ।
उता, राजावादीका लागि सबैभन्दा राम्रो वडा मानिएको काठमाडौं–१६ मा वडा अध्यक्षका उम्मेदवारले जम्मा ७७४ मत ल्याए पछि सहरिया मत राप्रपाप्रति क्रमशः विकर्षण देखिएको ठम्याइ असन्तुष्ट नेताहरूको छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजाबादीको शक्ति कमजोर हुँदै गएको आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा उल्लेख गरेका छन । ‘२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरूको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरूको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ’ ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन ।
पार्टी एकता र मोर्चाप्रति अनुदार
अध्यक्ष लिङदेनले कमल थापा नेतृत्वका राप्रपा नेपालसहित साना राजाबादी दलहरूसँग एकीकरण गरेर जानु पर्ने पार्टी भित्रको मतलाई दबाउने गरेको जनाइएको छ ।
प्रकाश चन्द्र लोहनी, धवलशमशेर राणा मात्रै होइन, पशुपति शमशेर राणाले समेत बृहत पार्टी बनाउन एकीकरण प्रक्रिया सुरू गर्नुपर्ने धारणा राखेता पनि अध्यक्ष लिङदेनले नमाने पछि कुनै पक्रिया अघि बढ्न नसकेको पदाधिकारीहरू नै बताउँछन् ।
लोकेन्द्रबहादुर चन्दको पहलमा मुख्यतयाः राप्रपा नेपाललाई एकीकरण प्रक्रियामा ल्याउनु पर्ने भनेर पहल गरे पनि लिङ्देन त्यसमा बाधक देखिएको उनीहरूको बुझाइरहेको छ । ‘दिन दिनै जनमत खस्केर गएको अवस्था छ, जसका कारण उनको नेतृत्व पूर्णतयाः असफल भइसकेको छ,’ एक असन्तुष्ट पदाधिकारीले भने, ‘एकीकरण र मोर्चा गरेर भए पनि आन्दोलन अगाडि बढाऔँ भन्दा उहाँ तयार हुनुहुन्न, पार्टी साँच्चै अनिर्णयका बन्दीको अवस्थामा पुगेको छ ।’
उनका अनुसार माघ ११ गते देखी सुरू हुने केन्द्रीय समिति बैठकमा लिङ्देनको नेतृत्व क्षमताका बारेमा बहस हुने भने लगभग पक्का भएको छ । खासमा उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन देश दौडाहामा निस्केको भएतापनि २ मत समेतमा सीमित हुनु परे पछि लिङदेनमाथि प्रश्न बर्साउन खोजिएको एक नेताले बताए ।
पूर्वराजा पनि असन्तुष्ट
कमल थापालाई साथ नदिएर लिन दिनलाई साथ दिएकोमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि पश्चताप गरिरहेको बुझिएको छ । पूर्व राजाले आफू निकटहरूसँग भन्ने गरेका छन, ‘लिङ्देन नेतृत्वमा आए पछि पार्टीमा विभाजन भयो, अन्य दलसँग सम्बाद र सहकार्य गर्ने कार्य पनि गरिएन, न कुनै सरोकारवालाहरूसँग उनले सबन्ध नै बढाए, भएको जनमत पनि अहिले घटेको तथ्यांकमा देखिएको छ, मलाइ लाग्दैन कि अब लिङ्देनको नेतृत्वमा मुद्दा स्थापित हुनेछ ।’ अनौपचारिक सम्बादमा पूर्वराजाले नै लिङ्देनबाट मुद्दा स्थापित त परै जाओंस, झन कमजोर हुँदै गएको गुनासो गर्ने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया