राजनीति

अबको चुनाव देउवाको नेतृत्वमा हुन्छः उपप्रधानमन्त्री सिंह

इकागज |
माघ ८, २०८१ मंगलबार १९:३८ बजे

फाइल फाेटाे

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजोर बनाउने प्रयासमा रहेको बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए । विगतमा जनताको गुमेको अधिकार नेपाली कांग्रेसले पुनःस्थापित गरेको भन्दै अहिले प्राप्त अधिकारको रक्षाका लागि सुदृढ र एकतावद्द कांग्रेस आवश्यक रहेकोमा उपप्रधानमन्त्री सिंहले जोड दिए ।


त्यस्तै, अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि पुनः प्रष्ट पारेका छन् । सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस–एमालेबिच सत्ता सहयात्रा अघि बढिरहेको दाबीसमेत गरेका छन् ।

‘गत चुनावपछि बनेका सरकारहरू लामो समय टिकेनन्, स्थीर सरकार बनोस् भन्ने जनचाहना अनुरूप नै वर्तमान सरकार बनेको हो,’ कांग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिंहले भने, ‘७ बुँदे सहमतिअनुसार सरकार अघि बढ्छ । सहमतिअनुसार नै कांग्रेस सभापति ‌शेरबहादुर देउवाको  नेतृत्वमा चुनाव हुन्छ ।’

कांग्रेसको स्वभाव नै सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टिभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहनेले मिलाएर अघि बढ्नुपर्ने बताए । बाग्लुङमा रहँदा सिंहले बुधबार बाग्लुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा सभामा सहभागि हुनेछन् भने शहरी विकास मन्त्रालयअन्तर्गतका योजनाहरूको पनि निरीक्षण गर्नेछन् ।
 


Author

थप समाचार
x