प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित
काठमाडौं - प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संसद सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेर सहित पारित गरेको हो । माघ १८ गते संसदको पहिलो बैठकमा शीर्ष नेताहरू सम्बोधन गर्ने र अध्यादेश प्रस्तुत हुने तथा माघ २४ गतेको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुने उनको भनाइ छ । उनले संसदको आगामी अधिवशेनमा बढि भन्दा बढि विधेयकहरूलाई प्रस्तुत गर्ने र सदनमा कोरम पुराउने कुरामा सत्तापक्ष गम्भीर रहेको धारणा राखे ।
त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनलाई सहज रुपमा अघि बढाउनका लागि कार्यतालिका बनाइएको जानकारी दिए । उनले बैठकमा आफूहरूले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयककै अध्यादेश ल्याएको विषयमा कुरा उठाएको बताए । उनले कांग्रेसले अब देश अध्यादेशबाटै चलाउने भनाइ बैठकमा राखेपछि आफूहरूले प्रतिवाद गरेको जानकारी दिए ।
त्यस्तै कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले देश अध्यादेशबाटै चलाउने कुरा आफूहरूले नराखेको बरु समयमा नै कानुन बन्न नसके अध्यादेश नै विकल्प हुने बताएको स्पष्ट पारे । कानुन बनाउन भएको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको विषयलाई माओवादी सचेतकले अतिरञ्जित गर्ने काम गरेको उनको भनाइ छ ।
उले कानुन बनाउने क्रममा कार्यतालिका बनाएर अघि बढ्नुपर्ने कांग्रेसको धारणा रहेको बताए । अहिले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रकृतिको नरहेको देशको आवश्यकताका आधारमा अर्थतन्त्र र सुशासनका लागि अध्यादेश ल्याएको उनले बताए । घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया