समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियान देशव्यापी - गृहमन्त्री लेखक

फाइल फाेटाे
काठमाडौं - गृहमन्त्री रमेश लेखकले लागू औषधमुक्त समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाण्डौमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन गर्दै गृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रूपमा देखा परिरहेको भन्दै यस विरुद्धको अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
लागू औषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरुरी रहेको बताए । उनले लागू औषध विरुद्धको महा अभियानलाई विद्यालय स्तरसम्म महाअभियान पुर्याउन आवश्यक रहेको बताए । सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडी लागूऔषध एउटा कारकका रूपमा रहेको उनको भनाई थियो । उनले समाजका धेरै अपराधहरूको नियन्त्रणका लागि लागूऔषध नियन्त्रण गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्त कुँवरले लागू औषध नियन्त्रण गर्न देशभरका सबै कार्यालयबाट लागू औषध नियन्त्रण र रोकथाम कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनले प्रहरीले देशका विभिन्न स्थानमा सुधार केन्द्र स्थापना गरेको भन्दै कुलतमा लागेका युवाहरूलाई उपचार र सुधार विधिबाट असल र सक्षम नागरिक बनाउने गरि कार्य भइरहेको उल्लेख गरे ।
कुँवरले नेपाललाई लागू औषध ओसारपसारको ट्रान्जिट प्वाइन्ट बनाउने गरेको भन्दै प्रहरीले विशेष निगरानी गर्दै नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया