‘नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ’

फाइल फाेटाे
काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।
चाँगुनारायण नगरपालिकाको नवौं स्थापना दिवस समारोहलाई मंगलबार उद्घाटन गर्दै उनले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहिल्यै नरहेको बताए ।
‘पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको छ । नेमकिपा कहिल्यै पनि राजाको पक्षमा छैन, हिजो पनि थिए, अब पनि हुँदैन’, सुवालले भने, ‘त्यसैले भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौं, राजसंस्था अब फर्किन्न ।’
सत्तामा पुगेका दलहरूले जनता र देशको पक्षमा काम गर्नुपर्ने बताउँदै उनले विदेशी प्रतिक्रियावादीसँग सधैँ चनाखो रहनुपर्ने बताए ।
सांसद सुवालले चाँगुनारायण नगरपालिकाले २०८२ मा आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ मा आन्तरिक र बाह्य पर्यटकको भ्रमणसँगै यहाँका ऐतिहासिक, पुरातात्त्विक सम्पदाको संरक्षण, उत्खननलाई पनिसँगै लैजानुपर्ने बताए ।
चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वैशाख १ गतेदेखि वर्षभरी मनाइने भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकलई आकर्षित गर्न आवश्यक योजना तथा कार्यक्रम अगाडि बढाउने बताए ।
उनले यहाँका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्व मानचित्रमा पुर्याउन भ्रमण वर्षको आयोजना गर्न लागिएको र भ्रमण वर्षले सिङ्गो चाँगुनारायणको समृद्धिमा फड्को मार्ने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया