राजनीति

नेकपा सचिवालय बैठक आज

संसद् विघटन र नेकपा फुटबारे पोखरेल भन्छन्- संविधान र कानुनलाई नजरअन्दाज गर्न मिल्दैन्

इकागज |
मंसिर १६, २०७७ मंगलबार ९:४४ बजे

काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । नेपाली राजनीति वृतमा निकै चासोका साथ हेरिएको आजको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

दाहालको प्रस्ताव फिर्ता वा संशोधनसहित साझा प्रस्ताव बनाउन जोड दिइरहेको देखिन्छ । पत्रयुद्धमा होमिएका ओली र दाहालले आफ्नो रणनीति तय गरेका छन् । सचिवालय बैठकको एक दिनअघिसम्म दुवै पक्षले आ-आफ्नो शिविरमा आफ्नाहरूसँग छलफल गरिरहेका थिए । दाहालपक्षले सचिवालयमा पेश भएका सबै डकुमेन्टहरू स्थायी कमिटीमा लैजानुपर्ने अडान मंगलबार बैठकमा राख्‍ने एक सचिवालय सदस्यले इकागजलाई जानकारी दिए । ओलीले भने दाहालको प्रस्ताव जसरी पनि फिर्ता गराउने वा संशोधन गराउने भन्‍नेतिर लागेका छन् ।


'आजको बैठकमा हामी आफ्नो कुरा राख्छौं' ओली समूहका सचिवालय सदस्य ईश्‍वर पोखरेलले भने । बजारमा संसद् विघटनदेखि नेकपा फुटसम्मको बजार हल्लाबारे पोखरेलले इकागजसँग भने, 'बजारमा अनेक हल्ला चलेका हुन सक्छन् । तर जे सुकै निर्णय लिँदा संविधान र कानुनलाई नजरअन्दाज गर्न मिल्दैन् ।' पार्टीभित्र समिकरण बन्‍न नहुने उनको तर्क छ । 'पार्टीमा जुन किसिमको समिकरण भएको छ । त्यो दु:खद छ' पोखरेलले भने ।

दाहालले ओलीसँग कुनै सम्झौता नगर्ने आफु निकट सचिवालय सदस्यहरुलाई बताइसकेका छन् । 'अब ओलीसँग कुनै सम्झौता हुन्‍न । बैठकले जे निर्णय गर्छ त्यही मात्रै मान्‍नेछु,' दाहालको भनाइ उदृत गर्दै एक सचिवालय सदस्यले भने 'अहिलेको विवादलाई कमिटीले छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्छ भन्‍ने दाहालको लाइन छ ।'

गत कात्तिक २५ मा ओलीले दाहाललाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्धको आरम्भ भएको थियो । सबैका धारणाहरू सहित सचिवालयमा रहेका कागजपत्र स्थायी समितिमा लैजानपर्ने अडान दाहाल–नेपाल पक्षको छ । उक्त अडानलाई ओली पक्षले स्विकार गरेको छैन । यही विषयमा अडिर मंगलबारको बैठकअघि बढ्नेछ । 

कात्तिक २८ मा दाहालले सचिवालय बैठकमा ओली पक्षलाई केन्द्रित गरेर राजनीतिक प्रस्ताव पेश गरेपछि सत्तारुढ दलभित्र निकै खैलाबैला भएको थियो । उक्त प्रस्तावमा ओली र उनी नेतृत्व सरकारलाई गम्भिर आरोप लगाइएको छ । उक्त प्रस्ताव फिर्ता लिन दाहालले अस्विकार गरेपछि ओलीले ३८ पृष्ठको जवाफी प्रस्ताव पेस गरेका छन् । दुबैतर्फको रणनीति एक अर्कामा कसरी काउन्टर गर्ने भन्नेमा छ । 

दाहालसहित सचिवालयका पाँच नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले यसअघिको बैठकमा अध्यक्ष ओलीले बुझाएको पत्र त्यस पत्रमा दाहालको जवाफी पत्र र दाहालको पत्रमा फेरि ओलीको जवाफी पत्रसहित स्थायी समितिमा जानुपर्ने तर्क दाहाल नेपाल पक्षको छ । तर, ओली पक्षले सचिवालयमा सहमति जुटाएर दुवै अध्यक्षको साझा प्रस्ताव स्थायी समितिमा लैजान पर्ने बताएका छ । स्थायी समितिमा साझा प्रस्ताव लैजान नसकिएमा दाहालले प्रस्ताव फिर्ता वा संशोधन गर्नुपर्ने धारणा ओली पक्षको छ । 

ओली पक्षमा विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा रहेका छन् । मंगलबार सचिवालय बैठकले सबै डकुमेन्ट छलफल हुने र त्यसपछि सबै प्रस्ताव यसअघि नै तय भएको स्थायी समितिमा बहस गर्ने भन्ने छ । मंसिर १८ मा स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक आइसकेको र त्यसलाई सार्ने विषय उपयुक्त नभएकाले सार्वजनिक भइसकेका प्रस्तावबारे त्यही छलफल गर्ने दाहाल पक्षको धारणा छ । तर, ओली पक्ष भने स्थायी समिति सारेर भएपनि साझा प्रस्ताव लैजान पर्ने पक्षमा छ ।


Author

थप समाचार
x