राजनीति

नेकपा विवाद

एक्लिएको थाहा पाएपछि बैठक छल्दै ओली

सहमत गराउने प्रयास हुन्छ, बैठक छलेमा बहुमतले निर्णय गर्दै अघि बढ्छ : दाहाल-नेपाल समूह

चन्द्रशेखर अधिकारी |
मंसिर १७, २०७७ बुधबार २१:२८ बजे

काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सचिवालयमा ‘एक्लो’ पर्ने भएपछि बालुवाटारमै बसेको बैठकमा पनि सहभागी भएनन् । उनले पूर्वनिर्धारित सचिवालय बैठकमा नआउने जानकारी मंगलबार दिएका थिए । तर, बुधबार दिउँसो आफू पनि सहभागी हुने भन्दै बैठक एक घण्टा पर सार्न लगाए । त्योसँगै उनले आफ्नो निजी सचिवालय र केही निकटस्थ नेताहरूसँग छलफल गरेपछि बैठकमा सहभागी भएनन् ।

अध्यक्ष ओली उपस्थित नभए पनि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बैठक बसेको थियो । ‘पार्टी भन्दा व्यक्ति ठूलो हुँदैन । त्यसैले पार्टी आफ्नो काममा अघि बढ्छ’ बैठकपछि एक सदस्यले भने, ‘ओलीजी पार्टीको अध्यक्ष अनि महत्वपूर्ण व्यक्ति  हो । तर, उहाँ आउँदै आउनु भएन भने के पार्टी नै अघि नबढाउने त ? त्यसैले उहाँ उपस्थित नभए पनि बैठक बस्छ । काम अघि बढ्छ ।’


अध्यक्ष ओलीमाथि छलफल गर्नुपर्ने र उनी स्वयं महत्वपूर्ण व्यक्ति भएकाले २० गतेसम्म बैठक स्थगन गर्ने निर्णय बुधबारको बैठकले गरेको छ । अध्यक्ष दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले २० गतेको सचिवालय बैठकको कार्यसूची तय गर्दै स्थायी समिति बैठकलाई २१ मा सार्ने निर्णय गरेको छ । यसबाहेक बुधबारको सचिवालय बैठकले ओलीलाई अबको बैठकमा सहभागी गराउन पहल गर्ने निर्णय समेत गरेको छ ।

एक अध्यक्ष उपस्थित नभए अर्को अध्यक्षबाट पार्टी अघि बढाउने निर्णय गर्दै त्यसलाई कार्यावन्यनमा ल्याउनुपर्छ भन्नेमा सचिवालय सदस्य एकमत भएका छन् । मंगलबारको बैठकमा अर्का अध्यक्ष दाहाललाई बोल्न समेत नदिएर आक्रामक शैलीमा सस्ता शब्दहरूसहित प्रस्तुत भएपछि ओलीतर्फ रहेका सदस्यहरूले समेत दाहाललाई साथ दिएका थिए ।

प्रायः मौन रहने सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा समेत ओलीविरुध्द देखिएका थिए । थापा रिसाउने अवस्था आएको समेत ओलीले पत्तो पाएनन् । दाहालसँग भन्दा ओली समूहसँग निकट हुँदै गएका थापाले ओलीलाई मंगलबार ‘सबै आफैं हुँ अरु कोही होइनन् भन्‍ने भूल नगर्नु’ भन्दै दुवै अध्यक्षको प्रस्ताव छलफल शुरु भएकाले बैठकमा सबैलाई बोल्ने छलफल गर्ने अवसर आवश्यक रहेको बताएका थिए । त्यस्तै भाषा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि थियो ।

त्यसपछि चिन्तित ओली मंगलबारको बैठकमा के-का लागि बैठक बस्‍ने भन्दै आफू बुधबारको बैठकमा सहभागी हुन नभ्याउने बताएका थिए । प्रधानमन्त्रीले सचिवालयलाई मजाक बनाएको भन्दै सदस्यहरूले बैठकको प्रक्रिया अघि बढाउने र निर्णय लिंदै जाने बताएका थिए । तर, ओलीको सचिवालयले भने कार्यव्यस्तताका कारण उपस्थित हुन नपाएको जनाएको छ ।  

महत्वपूर्ण सदस्यलाई बाहिर राखेर भन्दा सँगै राखेर छलफल गरौं : दाहाल 

वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले विवेकपूर्ण निर्णय गर्ने बताउँदै इकागजसँग भने, ‘पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक छ । सबै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिन समय दिइएको हो ।’ प्रधानमन्त्री ओलीले पटक-पटक बैठक छलेको स्मरणसमेत उनले गरेका थिए । ‘सबैलाई समेटेर अघि बढ्ने कोशिस हुनेछ । भएन भने पनि पार्टी अगाडि बढ्छ,’ खनालले भने, ‘उहाँ (ओली) नेकपा अध्यक्ष हुनुहुन्छ भने सचिवालयको पनि महत्वपूर्ण सदस्य पनि । त्यसैले सहमतिमा जानु उपयुक्त हुन्छ । उहाँसहित अघि बढ्ने प्रयास अनुरुप तीन दिनको सीमा तोकेर अबको बैठक बस्‍ने निर्णय गरिएको छ ।’

दाहालले प्रधानमन्त्री ओलीकै बारेमा वहस र छलफल भएका कारण उनको उपस्थिति अपरिहार्य भन्दै अन्य तीन दिनको समयसीमाको प्रस्ताव राखेका हुन् । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र खनालले भने बैठकमा नआए पनि बैठकलाई निरन्तरता दिनुपर्ने अडान राखेका थिए । तर दाहालले जसमाथि प्रश्‍न उठेको छ, उसलाई राख्‍न प्रयास गरौं आएनन् भने मात्र त्यो प्रक्रिया अघि बढाऔं भनेपछि सबै यसमा सहमत भएका हुन् ।

ओली र दाहालबीचको तिक्तता लिखितम रूपमा अघि बढिसकेको छ । ओलीले दाहालको पत्र फिर्ता हुनुपर्ने र माफी माग्‍नुपर्ने अडान राखेका छन् । यद्यपि दाहालले पत्रयुध्द ओलीबाटै आरम्भ भएको, आफूले त जवाफ मात्र दिएको भन्दै त्यो फिर्ता नहुने र स्थायी समितिमा लैजाने बताएका छन् । आफ्नो कुरा लागू हुन नसकेको खण्डमा ओलीले यस्तै झुलाउने  काम गर्दै आएको उनीहरू बताउँछन् ।  

प्रवक्ता श्रेष्ठका अनुसार, एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको नेतृत्वमा बसेर तीन निर्णय गरेको छ । केही समय प्रधानमन्त्रीलाई कुरेको र केही समयपछि औपचारिक बैठक गरी अध्यक्ष ओलीको अनुपस्थितिमा उनलाई तीन दिन दिने निर्णय भएको हो ।

प्रधानमन्त्री निवासमा बैठक हुँदा समेत बैठकमा सहभागी हुन नआएको विषयमा भने सचिवालयका सबै सदस्यले दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको शैली ठिक नभएको बताएको पनि सदस्यहरूले जानकारी दिए ।

दलभन्दा माथि व्यक्ति हुन सक्दैन : खनाल 

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको १० पृष्ठको पत्र, त्यसपछि दाहालको १९ पृष्ठको जवाफ र अध्यक्ष ओलीले प्रस्तुत गरेको ३८ पृष्ठ लामो पत्रबारे छलफल हुने जानकारी दिइएको छ । ‘सबै पत्र प्रधानमन्त्रीसँग सम्बन्धित रहेकाले उहाँको उपस्थिति आवश्यक छ । त्यसैले सहमतिमा ओलीलाई उपस्थित गराउन तीन दिन समय लिएको हो,’ एक सचिवालय सदस्यले भने ।

ती सचिवालय सदस्यले भने, ‘ओलीलाई आग्रह र अनुरोध गर्दा पनि उपस्थित भएनन् भने पार्टीले जसरी बुधबार निर्णय लिएको छ । अब त्यसरी नै निर्णय लिंदै जानेछ । ओली आउने भए बालुवाटारमा बस्‍ने र नआउने भएमा पार्टी कार्यालयमा बैठक तय गर्ने जिम्मा दाहाललाई छोडिएको छ ।’

मंगलबारको बैठकपछि ओलीले एक्लो अनुभव गरेका छन् । ती सदस्यले भने, ‘ओलीले केही सचिवालय सदस्यसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएमा मात्र पेलेर जान सक्छन् । अन्यथा उनले तय गरेको बाटो सहज छैन ।’

सारा गुप्तचरी सूचना राख्‍ने गृहमन्त्री थापा पनि मंगलबार ओलीसँग चिढिएकाले नेकपामा ओलीले सोचेको जस्तो मात्र हुने सम्भावना कम रहेको तर नेताहरू अझै पनि ओलीसँग सजग भने रहेको देखिन्छ ।

दाहाल निकट उपाध्यक्ष वामदेव गौतमलाई ओलीले आफ्नो शिविरमा ल्याउन निकै प्रयास गरेपनि पछिल्लो समय सफल भएनन् । खनाललाई पनि ओलीले आफ्नो शिविरमा ल्याउन खोजेका थिए । तर खनालले दाहाललाई पूर्णतः काध थापेका हुन् । दाहालको शिविरलाई दाहाल-नेपाल शिविर भनिएको छ ।
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x