नेता पौडेलले गरे बुल्दीखोला पुल उद्घाटन
पोखरा : तनहुँको बुल्दी खोला पुलको उद्घाटन गरिएको छ । बिहिबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलको उद्घाटन गरेका हुन् । बुधबार सोही पुल उद्घाटन गर्न जाने क्रममा नेता पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर छोडेको थियो ।
उद्घाटन कार्यक्रममा वरिष्ठ नेता पौडेलसँगै नेपाली कांग्रेस गण्डकीका दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेल, युवा नेता प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्ले लगायतको उपस्थिति थियो । उद्घाटनस्थल पुग्नु अगाडि कांग्रेस तनहुँले पार्टी कार्यालयदेखि सफासडक हुँदै उद्घाटनस्थलसम्म हजारौंको संख्यामा र्यालीको आयोजना गरेको थियो ।
र्याली अगाडि व्यास नगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानले बोलेका थिए । न्यौपानेले प्रहरी प्रशासन अरुको इशारामा चलेको आरोप लगाए ।
र्यालीमा कांग्रेस कार्यकर्ताले सरकारविरुध्द नाराबाजीसमेत गरेका थिए । हुलहुज्जत हुन सक्ने भन्दै ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । र्याली तालघरेमा गएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटनको विषयलाई लिएर बुधबार दिनभर दमौली तनावग्रस्त बनेको थियो ।
कसरी भयाे घटना ?
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ३ दिनयता गृह जिल्ला तनहुँमा छन् । पौडेलले गृहजिल्ला तनहुँमा मंगलबार व्यास नगरपालिका १४ र रिसिङ गाउँपालिका ३ जोड्ने गरी सेती नदीमाथि बनेको पुल उद्घाटन गरे । उक्त पुल नेकपा नेता श्रेष्ठ उद्घाटन गर्न चाहन्थे । २ करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको काम पोहोर साल नै सकिए पनि उद्घाटन भएको थिएन ।
आफ्ना नेताले उद्घाटन गर्न चाहेको पुल कांग्रेस नेताले उद्घाटन गरेपछि नेकपा कार्यकर्ता आक्रोसित भए । सो आक्रोष बुधबार नेता पौडेलले उद्घाटन गर्ने भनिएको बुल्दी पुलको कार्यक्रममा पोखियो । सो विषयमा नेकपा कार्यकर्ताले दमौलीमा प्रदर्शन गरे ।
तर पुल निर्माण गर्ने उपभोक्ता समिति भने कांग्रेस नेता पौडेलबाटै उद्घाटन गराउने पक्षमा उभियो । यसरी दुईपक्षको फरकफरक मत आउँदा झडप हुन सक्ने भन्दै तनहुँ प्रशासनले बुल्दीमा निषेधाज्ञा लगायो । प्रशासनले पत्राचार गरेता पनि राष्ट्रिय युवा संघ तनहुँलगायतले विरोध प्रदर्शन गर्दा झडप हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।
साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिए पनि कांग्रेस नेता पौडेल पूर्वनिर्धारित कार्यक्रममा पुगे । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिकाको वडा नम्बर १ र १० मा राजमार्गमा चल्ने सवारी बाहेक गल्फुबेसी, बुुल्दीखोला पुल, घाँसीकुवासहितका क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन प्रशासनले रोक लगाएको थियो ।
निषेधाज्ञा लगाइएको ठाउँमा गएपछि कांग्रेस नेता पौडेलसहित आधा दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पार्टीका कार्यबहाक जिल्ला सभापति जितप्रकाश आले, नेविसंघका गौरव पन्थ, सुनील श्रेष्ठसहितका कार्यकर्ता पक्राउ परेका थिए । उनीहरू सबै साँझ साढे ५ बजे रिहा भएका थिए ।
पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको घटनाको नेपाली कांग्रेस संसदीय दल गण्डकीले भत्सर्ना गरेको छ । दलका नेता कृष्णचन्द्र नेपालीले विज्ञप्ति जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताए । तनहुँ प्रकरणलाई लिएर नेविसंघले पोखराको महेन्द्रपुलमा बुधबार साँझ आधा घन्टा चक्काजाम गरेको थियो ।
‘प्रशासनका नाममा गलत लाञ्छना लगाइयो’
तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले प्रशासनको नाम जोडेर अफवाह फैलाइएको बताएका छन् । जिल्लामा सुरक्षा व्यवस्था कडा पारेर हुन सक्ने घटना टार्दा आफूहरूलाई सत्तापक्षसँग जोडेर लाञ्छना लगाइएको उनले बताए । ‘हामीहरुले घट्न सक्ने घटनाको निवारणलाई निषेधाज्ञा लगाएका थियौं, नलगाएको भए हताहत हुन सक्थ्यो,’ उनले भने, ‘हामीमाथि लगाइएका आरोप निराधार छन् ।’
प्रमुख जिल्ला अधिकारी आचार्यले आफूहरुले निषेधाज्ञा लगाउनु अगाडि नै केही व्यक्ति पक्राउ गरेको बताए । ‘हामीले पहिल्यै केही युवालाई पक्राउ गरेका थियौं, हिजो निशेधाज्ञा नलगाएको भए नोक्सान के हुन्थ्यो, सोच्न पनि सकिँदैन,’ आचार्यले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया