राजनीति

राष्ट्रपतिको सक्रियताप्रति कूटनीतिक वृत्तमा चासो

गुटगत राजनीतिको मारमा मर्यादित राष्ट्रपति पद

पहल त्रिपक्षीय छलफलकाे

चन्द्रशेखर अधिकारी |
मंसिर १९, २०७७ शुक्रबार ११:५९ बजे

काठमाडौँ : एकातिर राजावादीहरूको आक्रामक आदोलन र अर्कातिर विद्यादेवी भण्डारीको अस्वाभाविक राजनीतिक गुटगत सक्रियताकाे मारमा ‘मर्यादित राष्ट्रपति पद’ परेको छ । राष्ट्रपति पद संवैधानिक र कानूनी रुपमा स्थापित छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गुटगत मोहमा पर्दा त्यो पदकाे गरिमामा प्रश्न चिन्ह खडा भएको हो ।

सत्तारुढ दल नेकपाको संकट मोचनमा बढी नै सक्रियता देखाएपछि स्वाभाविक प्रश्न उब्जिएको छ, ‘भण्डारी मुलुकको राष्ट्रपति कि नेकपाको मात्र ?’ राष्ट्रपति भण्डारी सममयै सचेत हुँदै संवैधानिक दायरामा नबस्ने हो भने सत्तारुढ पदीय लाभ प्राप्त गर्नेबाहेक हरेक नागरिकले प्रश्न उठाउँनेछन् । सामाजिक सन्जालमा नेकपामा नेता भीम रावल बारम्बार राष्ट्रपति पदीय मर्यादामा नबसेको प्रश्न उठाइरहने नेतामा पर्छन् । उनलाई साथ दिने नेकपाभित्रै ठूलै जमात छ ।


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि बिहीबार राष्ट्रपतिलाई भेटे । सक्रिय राजतन्त्र छँदा नारायणहिटी दरबारलाई बिर्साउने शैलीमा शितलनिवास अघि बढेको टिकाटिप्पणी बाक्लिदैछ । अब, राष्ट्र प्रमुखका राजनीतिक क्रियाकलापको बहस सामाजिक सञ्जालमा र दलमात्र होइन, कूटनीतिक वृत्तमा समेत बहस हुन थालेको छ ।

बिहीबार बंगलादेश, म्यानमार, थाइल्याण्ड र इजरायलका राजदूतको ओहोदाको प्रमाणपत्र बुझ्ने कार्यको तयारीमा शितल निवास थियो । तयारीकै बीचमा राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगे । ओहोदाको प्रमाणपत्र बुझ्‍ने कार्यक्रममा प्रधानमन्त्री बस्‍ने चलन छैन । तर, प्रधानमन्त्री र राष्ट्रपतिको छुट्टै भेटघाटबारे शितल निवासका अधिकारीलाई थाहा थिएन ।

राष्ट्रपति-प्रधानमनत्रीको ‘लञ्च–गफ बैठक’ लम्बिएपछि शितल निवासका अधिकारीलाई अप्ठ्यारो पर्‍यो, राष्ट्रपतिसँग विदेशी राजदूतको प्रमाणपत्र बुझ्‍ने समय घर्किने डरसँगैँ । 

राष्ट्रपति-प्रधानमनत्रीको ‘लञ्‍च-गफ बैठक’ लम्बिएपछि शितल निवासका अधिकारीलाई अप्ठ्यारो पर्‍यो, राष्ट्रपतिसँग विदेशी राजदूतको प्रमाणपत्र बुझ्‍ने समय घर्किने डरसँगैँ । निवासकै एक अधिकारीले भने, ‘त्यो गफ रोक्न राष्ट्रपतिलाई जनाऊ नै दिनुपर्ने वाध्यता पर्‍यो।’

राष्ट्रपति र प्रधानमन्त्रीको लञ्च बैठक लम्बिदै गएपछि कर्मचारीको पिरलो चाहिँ ‘क्रेडेन्सियल’ ढिलो हुने डर थियो । छलफल लम्बिएपछि चार मुलुकका राजदूतको ओहोदाको  प्रमाणपत्र बुझाउने काम आधा-घण्टा पर सर्नु परेको थियो थियो ।

प्रधानमन्त्री भेटेपछि दाहाल आउने कुरा फैलियो, जसले शितल निवासका कर्मचारीलाई झन् असहज बनायो । तर, राष्ट्रपतिले ‘क्रेडेन्सियल’ बुझेपछि मात्र दाहाललाई बोलाउने भनेपछि शितल निवासका अधिकारीलाई राहत मिलेको थियो । त्यसपछि ‘हतारो’मा चार राजदूतको औपचारिक कार्य आरम्भ भएको थियो ।

आफ्नै सचिवालयका सदस्यले राष्ट्रपतिसँग भेट्दा रोष देखाउने ओली–दाहाल लगातार ‘दर्शन भेट’ शैलीमा भेटवार्ता जारी छ । पार्टीमा शक्तिशाली बन्ने होडमा ओली र दाहालले सबै खाले शक्तिसँग यसरी पहल गरिरहेका छन् ।

गत वैशाखमा दल विभाजन अध्यादेश मन्त्रिपरिषदबाट पारित हुन नपाउँदै प्रमाणीकरण गरेकी राष्ट्रपतिले पार्टी मिलाउने छिन् भन्नेमा विश्‍वास कमैलाई छ । 

पदीय तवरमा राष्ट्रपति र प्रधानमन्त्री भनौ या राष्ट्रपति र सांसदले भेट्नु कुनै नौलो कुरा होइन । तर, कस्तो समयमा भेट हुँदैछ भन्नेले अर्थ राख्‍ने गर्छ । पार्टीभित्र चरम ध्रुविकरणसँगै दुई अध्यक्षबीच पत्र-युद्ध चलिरहेको बेला ओली र दाहाल बिहीबार छुट्टा छुट्टै रूपमा राष्ट्रपति भण्डारीलाई भेट्न जानु समान्य अवस्था पक्कै होइन  । राष्ट्रपतिले ओली-दाहाललाई मिलाउने प्रयास अनुरुप नै दाहाललाई बोलाएकी हुन् भने प्रधानमन्त्रीले आफैं समय लिएर पुगेका हुन् ।

हुनत, गत वैशाखमा दल विभाजन अध्यादेश मन्त्रिपरिषद्बाट पारित हुन नपाउँदै प्रमाणीकरण गरेकी राष्ट्रपतिले पार्टी मिलाउने छिन् भन्नेमा विश्वास कमैलाई छ । संकट चुलिएसँगै शीतल निवासमा ओली–दाहाल मात्र होइन नेकपा सदस्य म्याराथुन शैलीमा नियमित त्यहाँ पुग्ने गरेकै छन् ।

गत बैशाख होस या असारमा समस्या पर्दा पनि दुबै अध्यक्ष र अन्य नेताहरू शीतलनिवास पुगेका थिए । त्यो समयमा पनि, प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको हल्ला चल्दा त्यस्तो अराजनीतिक कदम चाले सहयोग नगर्न आग्रह गर्दै नेकपाका अन्य नेताहरूसमेत त्यतिबेला शीलत निवास पुगेका थिए । त्यसपछि पार्टी र शासकीय शक्ति आफैमा केन्द्रित गर्न सकिने लोभमा राष्ट्रपति भण्डारी लगातारका द्वन्द्वमा सहभागी हुँदै आएकी भन्दै आलोचित पनि छिन् । 

त्याेसँगै उनले शुक्रबार पनि नेकपाका दुई अध्यक्षलाई  शीतलनिवास बोलाएकी छन् । उनले  त्रिपक्षीय छलफलका लागि पहल गरेकी हुन् । द्वन्द्व बढ्न नदिन उनी लागि परेकी हुन् । राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा सहभागि हुन राष्ट्रपति कार्यालय पुगेका परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूणचन्द्र थापासँग पनि छुट्टा छुट्टै वार्ता गरेकी थिइन्  । प्रधानसेनापतिसँग उनले समग्र सुरक्षाका विषय र भएका भ्रमणबारेमा सामान्य गफिएकी थिइन् भने ज्ञवालीसँग भने पार्टीकै विषयमा छलफल गरेकी थिइन् । उनले ज्ञवालीको भारत भ्रमणबारे पनि संक्षिप्त कुरा गरेकी थिइन् । राष्ट्रपतिसँग ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूतहरुले संक्षिप्त शिष्टाचार वार्ता गरेका थिए ।


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x