राजनीति

जसपा विवाद

ठाकुर समूहमा लागेका सांसद र कार्यकारिणी समिति सदस्यलाई तत्काल कारबाही नगरिने

सांसदलाई आफ्नो पक्षमा तान्‍ने प्रयास जारी राख्‍ने

इकागज |
साउन १८, २०७८ सोमबार १९:५२ बजे

काठमाडौँ – निर्वाचन आयोगबाट आफूले वैधानिकता पाएको जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर समूहमा लागेका संघीय सांसद र कार्यकारिणी समिति सदस्यलाई तत्काल कारबाही नगर्ने नीति बनाएका छन् । बरु तिनीहरुलाई आफूतिर तान्ने कसरत जारी राख्ने रणनीति पनि तय गरेका छन् ।

सत्ता समीकरणमा भएको विवादमा दुई चिरा भएको पार्टीलाई निर्वाचन आयोगले साउन ११ गते कानुनी रूपमा टुक्रयाइदिएको थियो । सत्ता समीकरणमा अध्यक्ष ठाकुर समूह तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र एमालेसँग सघन सहकार्यमा गएको थियो । अध्यक्ष यादव समूह तत्कालीन नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चा रहेको विपक्षी गठबन्धनमा लागेको थियो । तत्कालीन विपक्षी गठबन्धन यतिखेर सत्ता गठबन्धनमा छन् ।


आयोगले गत ११ साउनमा गरेको फैसलामा ठाकुर समूहलाई नयाँ दल गठन गर्न भनेको थियो । तर, ठाकुर समूह आयोगको फैसलाविरुद्ध सर्वोच्च अदालत गएको छ ।आयोगबाट पार्टी आधिकारिकता पाएपछि बसेको यादव समूहको कार्यकारिणी समिति बैठकले १६ साउनमा ५१ सदस्यीय कार्यकारिणी समितिलाई ३४ सदस्यीय कायम छ । आयोगले गरेको ‘हेडकाउन्ट’मा ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेका थिए । एक सदस्य तटस्थ बसेका थिए भने १६ सदस्य ठाकुरको पक्षमा गएका थिए ।

यादव समूहका एक नेता भन्छन्, ‘हामीले ३४ सदस्यीयमा कार्यकारिणी समितिलाई खुम्च्याउने भनेका छौँ, त्यसका लागि कार्यदल पनि बनाएका छौँ । कार्यदलले के सुझाव पेस गर्छ । त्यो अध्ययन गरेपछि मात्रै के गर्ने भन्ने निर्णय गर्छौ ।’

बैठकले ३४ सदस्यीयका कार्यकारिणी समिति बनाउने निर्णय गरे पनि त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको छैन । निर्णय गर्ने, आयोगलाई जानकारी नगराउने भनेको उनीहरूलाई जिम्मेवारीविहीन गराउने तर कारबाही नगर्ने भएको यादव समूहका नेताहरू बताउँछन् ।

ठाकुर समूहका पक्षमा ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरतसिंह भण्डारी, अनिलकुमार झा, चन्दा चौधरी, दानबहादुर विश्वकर्मा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, इकवाल मिया, ब्रिखेसचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, केशव झा, राजकुमार लेखी, उमाकान्त झा र जितेन्द्र सोनलले हस्ताक्षर गरेका थिए । 

त्यस्तै दुई जना निलम्बितबाहेक ३२ प्रतिनिधि सभा सदस्य रहेको जसपामा अध्यक्ष यादवलाई संसदीय दलको नेता बनाउँदा २१ सांसद उपस्थित थिए । यादव दलको नेता शनिबारमात्रै सर्वसम्मत् चुनिएका थिए । दलको नेता चयन गर्ने बैठकमा अनुपस्थित ठाकुर समूहमा लागेका ११ सांसदलाई तत्काल कारबाही नगर्ने बरु आफ्नो पक्षमा तान्न हरसम्भव प्रयास गर्ने यादव समूहको रणनीति छ । अध्यक्ष यादव निकट एक नेताले सांसद फकाउन आफूहरू अनौपचारिक वार्तामा लागिरहेको बताए । 

ठाकुर समूहमा लागेका प्रतिनिधि सभा सदस्यहरूमा महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरतसिंह भण्डारी, अनिलकुमार झा, चन्दा चौधरी, कलुदेवी विश्वकर्मा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, इकवाल मियाँ र दुलारीदेवी खत्वे छन् । 


Author

थप समाचार
x