राजनीति

प्रहरीका तालिमेलाई गृहमन्त्रीको फोन : तालिम केन्द्रमा कस्तो छ व्यवस्था ?

इकागज |
साउन २२, २०७८ शुक्रबार १६:९ बजे

फाइल तस्बिर

काठमाडौँ – सुदूरपश्चिम प्रदेश प्रहरी तालिमकेन्द्र दिपायलमा अपराध अनुसन्धान तथा नियन्त्रणबारे तालिम दिइरहेका प्रहरी निरीक्षक रणबहादुर चन्दको मोबाइलमा अपरिचित फोन आयो । फोन उठाउँदा उनी झन दंग परे । ‘हेल्लो म गृहमन्त्री बालकृष्ण खाण बोलेको’ भन्‍ने आवाज आएपछि उनले विश्वासै गरेनन् । कुरा गर्दै गएपछि मात्रै बल्ल रहेछ भन्‍ने बुझे । 

‘अपरिचित नम्बरबाट आएको फोन रिसिभ गर्दा म गृहमन्त्री बोलेको भन्नुभयो । पहिला त पत्यारै लागेन । कुनै साथीले गरेर जिस्क्याएको होला भन्‍ने लाग्यो,’ निरीक्षक चन्दले इकागजसँग भने, ‘पछि सबै कुरा सोध्दै गएपछि बल्ल अलिअलि विश्वास लाग्यो । पछि साथीहरूले पनि फोन आएको बताएपछि विश्वास लाग्यो ।’


उनले आफूले मात्रै हैन अन्य साथीहरूले पनि पहिला त गृहमन्त्रीले टेलिफोन गरेको विश्वासै नगरेको बताए । गृहमन्त्री खाणले शुक्रबार चन्दसहित दिपायल प्रशिक्षण स्थल बुडरमा तालिम दिइरहेका चार जनालाई टेलिफोन गरेर त्यहाँ उनीहरूलाई गरिएको व्यवस्था सरकारले प्रहरीलाई उपलब्ध गराएको रासनमा उल्लेख भए अनुरुप छ कि छैन भनेर सोधेका थिए । खाणले तालिम दिइरहेका प्रहरी मेजर सुव्दार महेन्द्रराज गिरी, प्रहरी हवल्दार पदमबहादुर भण्डारी र प्रहरी जवान लोकेश विष्टलाई टेलिफोन गरेका थिए ।  तालिम लिइरहेका प्रहरी सहायक निरीक्षक सञ्जय धामीलाई  पनि सोधेर तालिम केन्द्रमा गरिएको व्यवस्थाबारे जानकारी लिएका थिए । ,

प्रहरी सहायक निरीक्षक धामीले गृहमन्त्रीले टेलिफोन गरेर तालिम केन्द्रमा भएको खानाको व्यवस्था अन्य प्रबन्ध, विषयबस्तु अनुरुपको तालिम भइरहेको छ कि छैन भनेर सोधेको जानकारी दिए । ‘गृहमन्त्रीज्यूले टोलिफोन गरेर तालिम केन्द्रमा भएको खानाको व्यवस्था, तालिममा उल्लेख भएका विषयबस्तु र सरकारको स्केल अनुरुपको खानाबारे जानकारी लिनुभयो,’ इकागजसँग सहायक निरीक्षक धामीले भने । 

गृहमन्त्री खाणले सरकारले दिएको सुविधा जीवन धान्न प्रयाप्त छ कि छैन ? खाना पौष्टिक छ कि छैन ? सरकारले दिएको स्केल अनुरुपको खाना छ कि छैन ? साथीहरू तालिममा बसेका बेलामा विरामी भएका छन् कि छैनन् ? केही असुविधा छ कि छैन ? भनेर जिज्ञासा राखेका थिए । स्वकीय सचिव बिजेश न्यौपानेका अनुसार तल्लो तहका प्रहरी अधिकृत र जवानको मनोबल बढाउन र सरकारले उपलब्ध गराएको सेवा सुविधा लक्षितसम्म पुगेको छ कि छैन भनेर आफैले जानकारी लिएका हुन् ।

उनीहरूको कुरा सुनेपछि केही थप्न पर्ने भए योजना बनाउने नपर्ने भएमा व्यवस्थित गराउने प्लान खाणको छ । ‘तालिमकेन्द्रमा कस्तो छ व्यवस्था ? सरकारले उपलब्ध गराएको रासन अनुसारको खाना छ कि छैन ? स्वास्थ्य स्थिति कस्तो छ ? भनेर मन्त्रीज्यूले तालिममा रहेको तल्लो तहका अधिकृतलाई सोध्नु भएको हो,’ न्यौपानेले भने ।  प्रहरीमा तल्लो तहका अधिकृत र जवानलाई आवश्यक पर्ने पौष्टिक तत्व नभएको खाना खुवाउने गरेको गुनासा आइरहन्थे । त्यसमा सत्यतथ्य के हो भनेर पनि मन्त्रीले आफै बुझेको सचिवालयले जनाएको छ । 

मन्त्री खाणले तालिम राम्रोसँग गर्न र नागरिक सुरक्षा र राष्ट्र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । ‘नागरिक सुरक्षा र राष्ट्र सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुहोला । अन्य कुनै असुविधा भएमा भन्नुहोला भन्नुभयो,’ प्रहरी निरीक्षक चन्दले भने । 

 अहिले सुदूरपश्चिम प्रदेश प्रहरी तालिमकेन्द्र दिपायलमा ३९५ जना प्रहरी जवानले तालिम गरिरहेका छन् । त्यस्तै ३० जना प्रहरी जवान (अनुसन्धान) जुनियर प्रहरी अधिकृत (अपराध अनुसन्धानतथा नियन्त्रण)मा ३० जनाले तालिम गरिरहेका छन् ।  


Author

थप समाचार
x