राजनीति

नेकपा विवाद

राष्ट्रपतिको सक्रियताले पनि मिलेनन् ओली-दाहाल

स्थायी समितिमा मिल्ने सम्भावना न्यून

चन्द्रशेखर अधिकारी |
मंसिर २०, २०७७ शनिबार २१:३० बजे

काठमाडौं : सत्तारुढ नेकपाको झगडा सुल्झाउन राष्ट्रपति विद्यादेवी भण्डारीको प्रयत्‍नले दुई अध्यक्ष अडानमा टसमस नभएपछि अब विवाद दोस्रो तहका नेतामा प्रवेश गरेको छ । ‘हाइकमाण्ड’ मानिने नेकपा सचिवालय विवादमा अल्झिएपछि स्थायी समितिमा छलफल प्रवेश गरेको हो ।
 
सचिवालयमा दुई अध्यक्षको फरक-फरक प्रस्ताव जस्ताको तस्तै स्थायी समितिमा जाने निर्णय लिनुअघि प्रधानमन्त्रीले आफूले दुवै पद नछोड्ने र कुनै पनि समितिले दिएको निर्देशन स्वकिार नगर्ने अडान लिए । त्यसपछि बैठकले उनको सहमतिबेगर स्थायी समितिमा लैजाने निर्णय गरेको हो । उनले जहाँ लगे पनि आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने बताएको एक सदस्यले जानकारी दिए ।

बैठकमा फरक कार्यसमिति बनाएर समस्या हल गरेर स्थायी समितिमा जाने तयारी पनि थियो । त्यो प्रस्ताव अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अस्विकार गरेका थिए । साझा प्रस्तावका लागि छलफल गर्न तीन दिनको समय दिएर गत बुधबार स्थगित बैठक शनिबार बालुवाटारमा झण्डै तीन घण्टा बस्दा पनि पुरानै अडान दोहोरिएको थियो । बैठक अघि दुई अध्यक्षबीच करिब आधा घण्टा छुट्टै छलफल समेत भएको थियो । उनीहरूबीच गत एक महिनायता एक्ला एक्लै छलफल भएको थिएन ।


राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यक्ष र अरु नेताहरूसँगको छलफलमा बहुमत-अल्पमतमा नजान सुझाएकी थिइन । उनको प्रयास खेर गएझैं देखिएको छ । राजावादीहरूको आन्दोलन चर्कदै जाने र शितल निवासभित्र बसेर दल मिलाउने कामले भण्डारी थप आलोचित बनिन् । तर पार्टीको विवाद मिलाउने ‘जादु’ चाहिँ बन्‍न सकिनन् । उल्टै उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको भाषा बोलेको आरोप भेट गर्नेहरूको छ । 

ओलीले अर्का अध्यक्ष दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने मात्र होइन कि लिखित लाञ्छनाबारे माफी माग्‍नुपर्ने अडान राख्दै आएका छन् । तर, उनको यो धारणामा कुनै पनि सचिवालय सदस्य सहमत छैनन् । प्रस्ताव आएपछि जम्मा भएका प्रस्ताव र विषयलाई लिएर स्थायी समितिमा लैजानुपर्ने पहिलेदेखिकै माग हो । त्यही अनुरुप अघि बढ्न पार्टी तयार रहेको दाहाल पक्षधरको निर्णय छ ।

प्रवक्ता श्रेष्ठ : ‘कसैले म पद छाड्दिन म जे मन लाग्यो त्यही गर्छु भन्‍न मिल्छ ?’ 

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका साथै सदस्यहरू नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, ईश्‍वर पोखरेल, रामबहादुर थापालगायतले प्रस्तावमाथि छलफल गर्नपर्ने बताए । ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अन्यका लागि प्रस्ताव जता लगे पनि लैजानु भनी चेतावनी समेत दिएका छन् । यद्यपि ओलीले स्थायी समितिमा हल हुन्छ भन्‍ने कुनै ग्यारेन्टी नभएको समेत बताए । उनले आफूले दुई पदमध्ये एक पद छुटाउन यो जम्मै रडाको गराएको भन्दै यसमा आफू तयार नभएको र गत भदौं २६ को सहमतिमा अडेर काम अघि बढ्ने बताए ।

अब के गर्ला स्थायी समितिले
सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि बाटो भनेको स्थायी समिति हो । खासगरी नेकपा दुवैतिर नेताहरू र पूर्व एमाले नेतृ एवं वर्तमान राष्ट्रपति भण्डारीको लगातार परामर्श भने सहमति गराउने थियो । तर, उनीहरू असफल प्रायः भएपछि शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो ।

प्रवक्ता श्रेष्ठले इकागजसँग भने, ‘लामो छलफल भयो । अडान जस्ताको तस्तै भएपछि कसरी निकास आउँछ भन्दै सचिवालयमा मात्र होइन, स्थायी समितिमा लैजाऔं, बहस गरौं र त्यही निर्णय लिऔं भन्‍ने भयो ।’ आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बस्‍ने स्थायी समिति बैठकमा दुबैको प्रस्ताव पेस हुनेछ । यद्यपि आइतबारका लागि तय भएको स्थायी समिति सार्न पनि ओली पक्षधरबाट पहल भइरहेको छ । ‘पूर्वनिर्धारित स्थायी समिति भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्‍नेछ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘दुवै प्रस्ताव त्यहाँ पेस भएर मिहिन ढंगको बहस हुनेछ । जसबाट निकास निस्कने विश्‍वास सबैको छ ।’ 

दाहालले ओलीमाथि सरकार संचालनदेखि पार्टी संचालनमा असफल भएको र भ्रष्टचारलाई प्रोत्साहन गरेका गम्भीर विषय उठाउँदै १९ पृष्ठको राजनीतिक प्रस्ताव लगेका थिए । त्यसको प्रतिवादमा ओलीले आफ्नो बचाउँसँगै दाहालको विगतदेखिका चरित्र छर्लंग हुने गरी ३८ पृष्ठको राजनीतिक प्रस्ताव ल्याएका थिए । एकले अर्कोमाथि आरोप-प्रत्यारोपले भरिएको उक्त प्रस्तावका कारण नेकपाभित्रको विवाद थप चर्किएको हो ।

पार्टीको संकट निवारण गर्न प्रस्तुत भएका विषयवस्तु र एजेन्डा स्थायी समितिमा पेश गरेर छलफल गर्नुपर्ने महसूस सबैले गरेकाले त्यसमा बहस र छलफल हुनेछ । लामो समयदेखि दुई अध्यक्ष एक्ला एक्लै भेटेका समेत थिएनन् । राष्ट्रपति भण्डारी र ओली निकटका नेताहरूको निकै लामो प्रयासपछि दुई अध्यक्षको भेट शनिबार बालुवाटारमा भएको थियो । ओलीले पटक-पटक उनलाई भेट्न पहिलो र दोस्रो तहको दूत पठाएका थिए । दाहालले ओलीसँग एक्लै संवाद समेत गरेका थिएनन् । दुई अध्यक्षबीचको छोटो वार्तापछि अन्य सचिवालय सदस्य सामोल भएर सचिवालय बैठकमा परिणत भएको थियो । 

‘दुवै पद छाड्दिन’ : प्रधानमन्त्री 

‘यो विषयमा आजै निष्कर्ष आउने सम्भावना न्यून थियो,’ श्रेष्ठले सुनाए, ‘प्रस्तावलाई स्थायी समितिमा लगर नै छलफल गर्नुपर्ने विषय उठाउँदै आएका हौं । अब यसले गति पाउनेछ । पार्टीको निर्णय सबै नेताले मान्‍नुपर्छ ।’

दुवै अध्यक्षबीच अडान र आरोप-प्रत्यारोपमा कुनै कमी नआएपछि दस्ताबेज सचिवालयमै टुंगो लाग्‍न नसकेको अर्का सदस्यले बताए । ‘पार्टी फुटको संघारमा हो’ भन्‍ने इकागजको जिज्ञासामा श्रेष्ठले भने  ‘किन फुट्ने पार्टी ? पार्टी एउटा व्यक्तिको हठमा फुट्दैन । फुटाउने होइन पार्टीको निर्णय कार्यान्वयन गरेर हिड्ने प्रथाका लागि यो संघर्ष हो । पार्टी फुट्दैन । फुट्नु पनि हुँदैन ।’ उनी प्रश्‍न गर्छन्, ‘कसैले म पद छाड्दिन म जे मन लाग्यो त्यही गर्छु भन्न मिल्छ लोकतान्त्रिक चरित्रमा ?’ 

प्रधानमन्त्री ओली नै अनुपस्थित भएपछि गत १७ गते स्थगित भएको बैठक सहमतिको लागि पहल गर्न भन्दै तीन दिन समय दिएर शनिबार बसेको हो । गत १८ गतेका निम्ति निर्धारित स्थायी समिति पनि २१ का निम्ति सारिएको थियो । प्रधानमन्त्री उपस्थित नभए पनि निर्णय लिने कार्य भएपछि ओलीलाई गम्भीर हुन उनकै पक्षधरले सुझाएका थिए । प्रधानमन्त्रीले सबै आफू नै भएको ठान्‍ने र अन्यलाई रैती सम्झदा यो समस्या आएको धारणा बैठकमा वरिष्ठ नेता नेपालले राखेका थिए । 

अध्यक्ष दाहाल-नेपाल पक्षधरले समस्यालाई सचिवालयमा छलफल गर्दै टुंगोमा पुर्‍याउने बताउँदै आएका थिए । उनले शुक्रबार र शनिबार विहान भेट्न आएका ओली पक्षधर दूतलाई छलफल स्थायी समितिमा लैजाने बताएका थिए । सचिवालय सदस्य ईश्‍वर पोखरेलले बैठक केही दिन रोकेर साझा प्रस्तावका लागि छलफल अघि बढाउन सुझाव दिएपनि दाहालले त्यो अस्विकार गरेका थिए । 

शनिबारको बैठकमा तीन सदस्यीय कार्यदल बनाएर छलफल गर्दै साझा प्रस्ताव तय गर्ने सचिवालय सदस्य रामबहादुर थापाले राखेका थिए । उनले वामदेव गौतमको संयोजकत्वमा कार्यदल बनाइनुपर्ने र त्यसबाट समस्या समाधान गर्नु उपयुक्त हुने धारणा राखेका थिए । तर गौतम स्वयं र दाहाल पक्षधरले उनको प्रस्ताव अस्विकार गरे । दाहाल पक्षधरको ‘छुद्र वचन बोल्ने नचाहिँदो अफवाह फैलाएको’ जिकीरसहित प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउनुपर्ने अडान राखेको थियो । नेताहरूले उनको क्रियाकलापको समेत पार्टीभित्र छलफल हुने धारणा राखेका थिए । 

वरिष्ठ नेता खनालले नेताहरूबीचमा थप संवाद नभएकाले सहमति टरेर यो अवस्था आएको बताए ।  उनले भने, ‘केही स्थायी समिति सदस्यहरूबाट साझा प्रस्ताव बनाउन सुझाव आएको भए पनि प्रधानमन्त्रीको हठले यसमा थप समस्या श्रृजना गरेको हो ।’ पार्टीको निर्णय नमान्‍ने व्यक्तिले कसरी पार्टी हाक्ने भन्दै उनले सरकारी संचार-माध्यम एक व्यक्तिका लागि प्रयोग भएको समेत बताएका थिए ।

बैठकपछि इकागजसँग खनालले भने, ‘गुटकेन्द्रित छलफलमा व्यस्त भएकाले समस्या उस्तै छ । तर, पनि हामीले समस्या समाधान गर्न स्थायी समिति रोजेका छौं । अब त्यही छिनोफानो हुन्छ । र, समस्या टुंगिनेतर्फ जाने मेरो विश्‍वास छ ।’ यद्यपि उनी नेतृत्वले समाधान दिन नसकेको भएपनि थप नेतृत्वमा जाँदा त्यसबीचार बढ्ने समाधानको बाटाहरू पहिलिने बताए ।

नेकपाका अर्का एक सदस्यले भने पार्टीको तल्लो तहमा समस्या पुग्दा झन् विभाजनतिर जाने बताए । माथिल्लो तहमा लगातार छलफल हुँदा पनि समस्या समाधान नभएको र अब झन् तल पुग्दा आगोमा घिऊ थप्‍ने काम हुने भन्दै केही नेताहरूले चिन्ता पनि व्यक्त गरेका छन् । 
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x