लोकसेवा आयोग र विद्युत् विधेयक स्वीकृत
काठमाडौँ - राष्ट्रिय सभाको आजको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ र ‘विद्युत् विधेयक २०७७’ लाई सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट लोकसेवा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सांसदहरुले निजामती सेवालाई सक्षम र सेवामुखी बनाउने महत्वपूर्ण विधेयक भएकाले यसलाई चाँडोभन्दा चाँडो पारित गरी कार्यान्वयनमा ल्याउन माग गरे । सांसदहरू खिमलाल देवकोटा, उदया शर्मा पौडेल, प्रकाश पन्थ, डा. विमला राई पौडेल, कोमल वलीले छलफलमा भाग लिँदै निजामती सेवालाई चुस्त र पारदर्शी बनाउन विधेयकको महत्वपूर्ण भूमिका हुने भएकाले विधेयकलाई तत्काल पारित गरिनुपर्ने बताए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री कार्कीले निजामती सेवासम्बन्धी महत्वपूर्ण विधेयकलाई छिटो पारित गरेर कार्यान्वयनमा लैजानुपर्ने अवस्था रहेकाले यसमा सहयोग गर्न सबै सांसदहरुलाई आग्रह गरेका थिए । सांसदहरुले उठाएका विषय र सुझावलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी बैठकले ‘विद्युत् विधेयक २०७७’ लाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत् विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उक्त प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री भुसालले आर्थिक विकास र समृद्ध मुलुक निर्माणका लागि महत्वपूर्ण आधार मानिएको विद्युत् क्षेत्रलाई प्रभावकारी रुपमा प्रवर्द्धनका लागि सरकारका तर्फबाट सो विधेयक ल्याइएको बताइन् ।
विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरु रामनारायण विडारी, अनिता देवकोटा, प्रकाश पन्थ, ठगेन्द्रप्रकाश पुरी, कोमल वली र उदयशर्मा पौडेलले विधेयकले संघीयताको अवधारणा तथा प्राकृतिक स्रोतको बाँडफाँटका विषयलाई विधेयकले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया