राजनीति

प्रदेश सांसद चौधरीले भनिन्– एसिड छरेर शव क्षत-विक्षत बनाइएको थियो

इकागज |
साउन २७, २०७८ बुधबार १५:१८ बजे

विराटनगर - उदयपुरकी प्रदेश सभा सदस्य सुनिता चौधरीले साउन १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका–६ मोहनपुरकी १६ वर्षीया वालिका कृषला चौधरीलाई एसिड छर्किएर शवसमेत क्षत-विक्षत पारिएको दाबी गरेकी छन् । बुधबार प्रदेश १ को प्रदेशसभाको सुन्य समयमा बोल्दै सांसद चौधरीले घटनाको छानबिन र दोषीलाई अहिलेसम्म कारवाही नभएको समेत बताइन् ।

‘१६ बर्षीया कृषला चौधरीको चुरेस्थित जंगलमा एक हप्ता अगाडि एसिड छरेर क्षत विक्षत अवस्थामा मृत अवस्थामा फेला परेको हुँदा घटनालाई छानबिन गरेर अहिलेसम्म दोषीलाई कारवाही नगरेको अवस्थामा अनुसन्धान गरेर चाँडोभन्दा चाँडो कारबाही गर्नका लागि सम्बन्धित निकायलाई सभामुखमार्फत ध्यानाकर्षण गराउँदछु’ उनले भनिन् ।


मृतक वालिकाका अभिभावकका अनुसार कृषला साउन १३ गते आफ्नै घरबाट हिंडेकी थिइन् । साउन १९ गते घाँस दाउरा गर्न जाने व्यक्तिहरुले मोहनपुरस्थित राजदेवी सामुदायिक वनभित्र रुखको जरामुनि अनुहार र शरिर सड्दै गरेको अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शवलाई जिल्ला अस्पताल गाईघाटमा पुर्‍याएपछि मात्रै वालिकाका बुवा प्रेमकुमार चौधरीले थाहा पाएर शव आफ्नै छोरीको भएको सनाखत गरेका थिए । सड्न थालेको अवस्थामा वालिकाको शव भेटिएपनि प्रहरीले घटनालाई हल्का ढंगले लिएर अनुसन्धान अघि बढाएको भन्दै अधिकारकर्मी संघसंस्थाहरुले विज्ञप्तिमार्फत स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

केहिले पीडित बालिकाको न्याय र दोषी पत्ता लगाइ कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुर अगाडि मंगलबार साँझ प्रर्दशन पनि गरेका थिए । घटना भएको सातौं दिन मंगलबार बेलुकामात्रै जिल्ला प्रहरी कार्यालय उदयपुरले स्थानीय संचारकर्मीहरुलाई घटनाको सामान्य जानकारी उल्लेखित विज्ञप्ति इमेलमार्फत पठाएको थियो । उक्त विज्ञप्तिमा सडेगलेको अवस्थामा कृषला चौधरीको शव भेटिएको, शव पोष्टमार्टमका लागि पठाइएको र सोधपुछका लागि तीनजनालाई नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गरिरहेको कुरा उल्लेख छ ।

पब्जी र फ्रिफायर बन्द गर सांसद चौधरीले पब्जी र प्रिफायर जस्ता खेलका कारण विकृति बढेको, युवाहरुलाई एकोहोरो बनाएको भन्दै बन्द गर्न माग गरेकी छन् । उनले विद्यार्थीहरु यस्ता खेलको कुलतमा परेको भन्दै तुरुन्तै रोक्नुपर्ने बताइन् । ‘यस्ता खेलले युवाहरुलाई दिमाग एकोहोरो बनाउने भएकोले तुरुन्तै रोक्न म सरकारसँग माग गर्दछु’ उनले भनिन्, ‘युवाहरुलाई रोजगारीको अवसर सिर्जना गरेर रोजगारी दिइयोस्, रोजगारी दिन नसके वेरोजगार भत्ता दिइयोस् ।’


Author

थप समाचार
x