राजनीति

मुख्यमन्त्रीलाई कांग्रेसको चुनौती

प्रदेश नामाकरणको सूचना निकाल्ने हिम्मत छ ?

इकागज |
साउन २७, २०७८ बुधबार २१:७ बजे

विराटनगर - प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरणसम्बन्धि प्रस्ताव ल्याएर देखाउन चुनौति दिएका छन् । बुधबार प्रदेश १ को प्रदेशसभामा दलको तर्फबाट विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले मुख्यमन्त्रीले नामाकरणको विषयलाई छलेर प्रतिपक्षी दलहरुमाथि दोष थोपर्दै आएको आरोप लगाए ।

‘नामाकरणको बारेमा पटक–पटक कुरा उठ्यो, मुख्यमन्त्रीले दलहरुले दलभित्र सल्लाह गर्न भन्दै समय मागेकोले समय दिइएको भनेर प्रचार गरेका छन्’ उनले भने,  ‘कांग्रेसले भोली नामाकरणको सूचना निकाल्नुहोस् भनेको हौ, आजै निकाल्नोस्, अहिले निकाल्नोस्, कांग्रेस छलफल गर्न तयार छ ।’


प्रमुख सचेतक कार्कीले प्रदेशको नामाकरण गर्न पहिल्यै आफ्नो संसदीय दलका नेताले नै संसदमा प्रतिवद्धता जनाइसकेको दाबी गरे । उनले नामाकरणको बिषयलाई सत्ता जोगाउने गोटी नबनाउन चेतावनी समेत दिए ।

चालु वर्षे अधिवेशनमा मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम र बजेट पारित हुने वितिक्कै प्रदेशको नामाकरणको विषयमा प्रवेश गर्ने प्रतिवद्धता जनाएका थिए । 

उनले संसदमा प्रदेशको नामाकरणको विषय प्रदेशसभाको कार्यक्षेत्र भएकोले सरकारले सहजीकरणमात्रै गर्ने बताउँदै आएका छन् । तर नामाकरणका विषय मुख्यमन्त्रीको दल नेकपा एमालेभित्रै प्रस्ताव अघि बढाउने विषयमा सहमति बनिसकेको छैन । 

एमालेभित्र प्रदेशको नामाकरणको विषयमा सहमति जुटाउन संसदीय दलको बैठक बस्ने तयारी गरिएपनि पार्टीभित्रको देखिएको आन्तरिक कलहका कारण दलको बैठक बस्न सकेको छैन । 
 


Author

थप समाचार
x