राजनीति

कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन गर्न गृहकार्य

इकागज |
साउन २९, २०७८ शुक्रबार १७:१४ बजे

काठमाडौँ- नेपाली कांग्रेसले पूर्वघोषित महाधिवेशन कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएको थियो । महाधिवेशनका लागि ७ वटा तहको नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका केहि परिमार्जन गर्न छलफल भइरहेको शर्माको भनाइ छ ।


बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेकाले केहि दिन लम्बिने प्रवक्ता शर्मा बताउँछन् । कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।

बैठकमा सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा पनि सदस्यहरुले सुझाव दिएका छन् । बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए । समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका थिए ।


Author

थप समाचार
x