प्रमुख समाचार

हैसियत र अधिकार नदिएको भन्दै कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए राजीनामा

इकागज |
साउन २९, २०७८ शुक्रबार १८:५५ बजे

काठमाडौँ -  नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीयसदस्यद्वारा सामूहिक राजीनामा दिने प्रस्ताव पेश गरेका छन् । आमन्त्रित केन्द्रीय सदस्यहरुले कुनै भूमिका र अधिकार नपाएको भन्दै राजीनामा दिने प्रस्ताव पेश गरेको आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले इकागजलाई जानकारी दिए । 

‘आमन्त्रित केन्द्रीय सदस्य भन्ने पद चाहिँ राख्ने तर, कुनै पनि भूमिका र हैसियत नभएपछि राजीनामाको प्रस्ताव पेश गरेका हौँ,’ उनले भने, ‘राजीनामाको प्रस्ताव स्वीकृत भएको भने छैन। सभापतिले रोकिनुस भनेर चाहिँ भन्नु भएको छ ।’ 


उनले अन्यपार्टीबाट आएर आमन्त्रिक केन्द्रीय सदस्य भएकाहरुलाई कुनै भूमिका नदिएको कारणले पनि राजीनामा दिनुपरेको बताए । ‘अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई अन्याय भयो । कांग्रेसमा आउँदा पनि सुरक्षित र अपनत्व महसुस हुने अवस्था नबनाउने हो भने आमन्त्रित केन्द्रीय सदस्य भनेर मात्र के बस्ने भनेर राजीनामा दिएका हौँ ।’ 

कांग्रेसका एक पदाधिकारीले भने उनीहरुले चुनावमा नलडेरै महासमिति सदस्य हुनुपर्ने र केन्द्रीय सदस्य हुन पाउनुपर्छ भनेर अनावश्यक माग राखेको बताउँछन् । उनले भने, ‘चुनाव लड्दिनँ मलाई पदेन केन्द्रीय सदस्य चाहियो । महासमिति सदस्य बनाइदेउ भनेर हुन्छ ?’ 

कांग्रेसमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । उनीहरुले शीर्ष नेताहरु पनि तल्लो तहबाटै निर्वाचन लडेर केन्द्रमा चुनाव लड्न आउनु पर्ने भन्दै त्यो व्यवस्था खारेज गर्न पनि माग गरेको दाबी गरेका छन् । त्यसो त अहिले उनीहरुलाई राजीनामा दिन स्वयम् सभापति शेरबहादुर देउवाले नै अह्रराएको पनि स्रोतको दाबी छ ।  


Author

थप समाचार
x