अफगानिस्तानमा रहेका नेपाली नागरिकबारे संसद्को कानुन समितिमा छलफल
काठमाडौँ – प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपाली नागरिरको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकको वास्तविक तथ्यांक र अवस्था पत्ता लगाई सुरक्षित रुपमा खाने बस्ने व्यवस्था मिलाउँदै छिटोभन्दा छिटो उद्धार गरी नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको हो ।
‘श्रम स्वीकृति लिई वा अन्य पक्रियाबाट त्यहाँ पुगेका नेपाली नागरिकको जोखिममा पर्नसक्ने जानकारी विभिन्न सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको यकिन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई, सुरक्षित रुपमा खाने, बस्ने प्रवन्ध मिलाउन सरकारले जोड दिनुपर्छ,’ समितिले दिएको निर्देशनबारे सभापति कृष्णभक्त पोखरेलले भने, ‘जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको जीवनरक्षा र मानव अधिकारको संरक्षण गर्न र छिटोभन्दा छिटो उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन गरिएको छ ।’
बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने सन्दर्भमा महत्वपूर्ण निर्णय र पहलकदमी गरिरहेको बताए । उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनको सन्दर्भमा नेपालले तटस्थताको नीति लिएको र गम्भिरतापूर्वक अवलोकन गरिरहेको उल्लेख गरे ।
‘यो घटनाको बारेमा नेपाल सरकारले तटस्थताको नीति लिएको छ । त्यहाँको पुरानो संस्थापन पक्ष र विद्रोही पक्षबीच जस्तोखालको घटनाक्रमहरु भएका छन्, त्यसलाई हामीले गम्भिरतापूर्वक अवलोकन गरिरहेका छौं,’ उनले भने । सरकारले मंगलबार र बुधबारसम्म २ सय ७२ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरी स्वदेश ल्याइसकेको जानकारी दिए । त्यसमध्ये ९ जना भारतीय नागरिक रहेको पनि उनले बताए ।
परराष्ट्र मन्त्रालयले नेपाली युवा कार्यरत रहेको राष्ट्रको त्यहाँ रहेको कटनीतिक नियोग र काठमाडौंस्थित कुटनीतिक नियोगलाई सम्पर्क गरिरहेको उनले बताए । अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानलाई औपचारिक रूपमा पत्राचार गरेर त्यहाँ रहेका नेपालीहरुलाई सकुशल छिमेकी मुलुकमा पु¥याइदिन र नेपाल जानका लागि सहजीकरण गरिदिन कुटनीतिक पहल गरिरहेको पनि उनले उल्लेख गरे । उनले नेपाली ध्वजावाहक जहाज भने अफगानिस्तान पठाउनसक्ने अवस्था नगरेको बताए ।
‘नेपाली नागरिक लिन हाम्रो ध्वजावाहक जहाज पठाउन सरकार तयार छ । तर अब काबुलमा जानसक्ने अवस्था रहेन । किनकी त्यहाँ नागरिक उडड्यनका जहाजहररू जानसक्ने अवस्था छैन । त्यहाँबाट अन्य माध्यमबाटैै छिमेकी मुलुकहरूमा ल्याउनुपर्ने देखिएको छ,’ गृहमन्त्री खाणले भने, ‘छिमेकी मुलुकमा नेपाली नागरिक फेरि नेपाल आउनसक्ने अवस्था रहेन भने नेपाली जहाज जानसक्छ । त्यसको पूर्वतयारी सरकारले गरेको छ । मन्त्रीपरिषद्ले सम्बन्धित विभागीय मन्त्रालयलाई त्यो निर्देशन पनि दिइसकेको छ ।’ नेपाली नागरिक कार्यरत कूटनीतिक नियोग र दुतावासले नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउने प्रतिबद्धता जनाएको मन्त्री खाँणले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया