राजनीति

कक्षा १२ को परीक्षा गर्न नसकेको सरकारको आलोचना

इकागज |
भदौ ४, २०७८ शुक्रबार १७:२० बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा अझै सञ्चालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई/दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन ।

सांसद जयपुरी घर्तीमगरले विना विकल्प कक्षा १४ को परीक्षा स्थगित गरेर सरकारले गम्भिर गल्ती गरेको बताए । समितिका सभापतिसमेत रहेका उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्न समेत गरे । 


समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए । उनले विद्यार्थीहरुलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन (सिसीएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे । कोभिड १९ को समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भएपनि परीक्षा संचालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ ।

समितिका अर्का सदस्य एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराए । उनले परीक्षा संचालनका लागि विद्यार्थीहरुलाई तत्काल आवश्यक कोभिड खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराए । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टिकरण समितिमा दिएका थिए । उनले आफूहरु चरणवद्ध रुपमा भएपनि कक्षा १२ को परीक्षा संचालन गर्न तयार रहेपनि कोरोनाका कारण त्यसबाट पछि हटने परिस्थिति आएको बताए । प्रवक्ता शर्माले कोरोना संकटकै कारण सिसिएमसीले आफूहरुलाई परीक्षा संचालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी गराएका थिए । 
 


Author

थप समाचार
x