राजनीति

सभामुखलाई धम्क्याउँदै एमाले

एमाले नेताहरुको अभद्र व्यवहारप्रति सभामुख सापकाेटाको सचिवालयको आपत्ति

इकागज |
भदौ ४, २०७८ शुक्रबार २१:५९ बजे

फाइल फोटो

काठमाडौँ : पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न दबाब दिँदै प्रमुख प्रतिपक्षी दल एमाले सभामुखलाई धक्याउन थालेको छ । मंगलबार नै पार्टी फुटाएर गएका वरिष्ठ नेता माधव कुमार नेपालसहितका सांसदलाई कारबाही गरेको एमालेले तत्काल उनीहरुलाई पदमुक्त गर्न भन्दै सभामुख अग्नि सापकोटालाई धम्क्याउन थालेका हुन् । 

सभामुख अग्नि सापकोटालाई भेटेरै कारबाही गरिएका सांसदलाई तत्काल पदमुक्त गर्न माग गरेका एमाले नेताहरुले आफ्नो माग पूरा नभएपछि धम्क्याउने, अभद्र व्यवहार गर्ने, सार्वजनिक मिडियामा जथाभावी बोल्ने गरिएको भन्दै सभामुख सापकोटाको सचिवालयले आपत्ति जनाएको छ । 


दुई दिनअघि सभामुख सापकोटाले एमाले नेताहरुसँगको भेटमा पत्र पाएपछि विस्तारै पदमुक्तका लागि प्रक्रिया अगाडि बढाउने बताएका थिए । तर पदमुक्त गर्न दबाब दिन धर्ना बस्ने, सभामुखको समय नलिएरै कार्यालय परिसरमा हुलहुज्जत गर्ने एमाले नेताहरुको गतिविधि अमर्यादित, अलोकतान्त्रिक, अभद्र भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

‘सभामुखले भेट दिएर आवश्यक प्रक्रिया थालनी गर्ने बताउनु भएकै छ,’ न्यौपानेले इकागजसँग भने, ‘तर हिजोआज समय नलिइकनै आउने, हुलहुज्जत गर्ने, सार्वजनिक मिडियामामार्फत धम्क्याउने गतिविधिप्रति आपत्ति छ । एमाले नेताहरुको यस्तो गतिविधिले सभामुखले स्वतन्त्र भएर काम गर्ने वातावरण बिग्रदै गएको छ ।’

शुक्रबार इकागजसँगको कुराकानीमा प्रमुख सचेतक विशाल भट्टराईले एमाले फुटाउन सभामुख सापकोटाले षडयन्त्र गरिरहेको आरोप लगाएका थिए । तर सभामुख सापकोटाका प्रेस सल्लाहकार न्यौपानेले भने सार्वजनिक मिडियामा सभामुखप्रति अभद्र व्यवहार गर्ने, धम्क्याउने गतिविधि आपत्तिजनक भएको बताए ।

‘कुनै पार्टी फुट्ने, जुट्ने प्रक्रिया पार्टी र नेताहरुमा भर पर्छ । तर एकहोरो सभामुखलाई अभद्र शैलीमा आरोप लगाउनु र स्वतन्त्र भएर काम गर्न नदिनुले कारबाही गरिएका सांसदलाई पदमुक्त गर्ने प्रक्रिया नै अगाडि बढाउन अवरोध पुर्याउनु हो’ न्यौपानेले थप अगाडि भने, ‘यस्ता गतिविधि आपत्तिजनक छन् ।’

एमालेबाट अलग्गिएर माधव नेपाल लगायत नेताहरुले नेकपा एकिकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । नेता नेपाललाई पार्टी दर्ता गर्न नदिन एमालेका नेताहरुले अवरोध गरिरहेको माधव समूहका नेताहरुको भनाइ छ ।

 

 

 


Author

थप समाचार
x