राजनीति

नेपाल पक्षीय झापा कमिटी अध्यक्ष वेदराज रेग्मी भन्छन्- म संस्थापनमै छु

इकागज |
भदौ ५, २०७८ शनिबार २०:३२ बजे

झापा - झापामा गठित नेकपा एमालेको समानान्तर कमिटीका अध्यक्ष वेदराज रेग्मीले आफू नेकपा एमालेको संस्थापन पक्षमा रहेको स्पष्ट पारेका छन् । ३ वैशाखमा नेपाल पक्षले गठन गरेको जिल्ला कमिटीमा अध्यक्ष रहेका रेग्मीले त्यतिबेला आफूहरूले पार्टीलाई सुदृढीकरणका लागि कमिटी गरेको दाबी गरेका छन् ।

रेग्मीले एमाले विभाजन भई माधव नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेको घटनाले आफूसहित पार्टीका गाउँ र वडा वडाका कार्यकर्तामा निराशा पैदा गरेको बताएका छन् । मालेकालीन बामपन्थी नेता रेग्मीको अध्यक्षतामा ३ वैशाखमा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो ।


पार्टीलाई विभाजनतर्फ नलगेर अझ मजवुत बनाएर अघि बढ्नलाई ३ वैशाखमा एमालेको समानान्तर जिल्ला कमिटी निर्माण गरिएको अध्यक्ष रेग्मीको भनाइ छ  । एमाले उपमहासचिव घनश्याम भुसाल, भीम आचार्य, स्थायी कमिटी सदस्य नरेश खरेल, केन्द्रीय कमिटी सदस्यहरू घनेन्द्र बस्नेत र रविन कोइरालालगायतको उपस्थितिमा गठित कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी रहेका थिए ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा नेता रविन कोइराला र नरेश खरेलको नाम भए पनि दुवैले आफुहरू एमालेको संस्थापन पक्षमा रहेको र माधव नेपाल नेतृत्वको पार्टीको केन्द्रीय सदस्य नरहेको धारणा सार्वजनिक गरेका छन् । ‘पार्टी विभाजन हुनु दुःखद कुरा हो,’ समानान्तर कमिटी अध्यक्ष रेग्मीले भने, ‘यसको जिम्मा पार्टीको केन्द्रीय नेतृत्वले लिनुपर्छ ।’

पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले एमाले विभाजन भएको र नेपाली कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको भन्दै उनले गलत प्रवृत्तिको भण्डाफोर गर्न जिल्लाका नेता, कार्यकर्तासँग आग्रह गरेका छन् । ०५४ सालमा भएको एमाले विभाजनबाट नेता कार्यकर्ताले धेरै कुरा सिक्नुपर्ने रेग्मीको भनाइ छ ।  एमालेमा आन्तरिक विवाद चर्की रहेकाबेला संगठन विस्तारलाई तीव्रता दिएको तत्कालीन एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको थियो । जिल्ला नेताहरूले आफहरू एमाले संस्थापनमै रहेको बताएपछि झापामा नेपालको पकड कमजोर बनेको छ ।


Author

थप समाचार
x