राजनीति

ओलीले कम्युनिस्ट इतिहास सिध्याउन लागेपछि नयाँ दल जन्मायौं : राजेन्द्र पाण्डे

इकागज |
भदौ ५, २०७८ शनिबार २१:२३ बजे

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले कम्युनिस्ट इतिहास बचाउन नयाँ दल निर्माण गर्नु परेको दाबी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट इतिहास नै सिध्यान खोजेपछि आफूहरूले नयाँ दल जन्माएउनु परेको पाण्डेको भनाइ छ ।

निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको पार्टीको युवा संगठन धादिङको प्रथम विस्तारित बैठकलाई शनिबार सम्बोधन गर्दै नेता पाण्डले ओलीको स्वेच्छाचारी र कम्युस्टि चरित्रविरोधी व्यवहारका कारण आफूहरू एमालेमा बस्न नसकेकोसमेत बताए । ओलीले तत्कालीन नेकपाकालमा पनि एउटा गुटको मात्रै नेतृत्व गरेर स्वेच्छाचारी र मनोगत ढंगले पार्टी चलाउँदा नेपालमा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उनको तर्क छ । 


‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन्,’ नेता पाण्डेले भने, ‘ओली नेपाली कम्युनिष्ट आन्दोलन नै सिध्याउने अभियानमा लागेपछि हामीले बाध्य भएर नयाँ पार्टी जन्माउनु परेको हो । ओलीकै स्वेच्छारी कदमका कारण हामी एमालेबाट बाहिरिएका हौं ।’ उनले ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि मात्रै एमाले अहिलेको अवस्थामा पुगेको जिकिर गरेका छन् ।

माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने उनको तर्क छ । ‘माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चिन्थ्यो,’ नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्यसमेत रहेका उनले भने, ‘माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएका हौं ।’ बैठकलाई सम्बोधन गर्दै उनले धादिङ जिल्ला कम्युनिस्ट राजनीतिको उर्वर भूमि रहेको बताउँदै अबको कम्युनिस्ट कार्यदिशाको जिम्मेवारी युवाको काँधमा आएको धारणा राखे । उनले जिल्लाका युवाहरू संगठित रूपमा पार्टीको काममा लाग्नुपर्ने बताए ।


Author

थप समाचार
x