पहिले हस्ताक्षर गर्न नमानेका दुई केन्द्रीय सदस्य नेपालतिरै, तर सनाखत गर्न नपाउने
झलनाथ खनालले पनि सनाखत गर्न नमिल्ने
काठमाडौँ – माधवकुमार नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी दताएका लागि निवेदन दिँदा हस्ताक्षर गर्न नमानेका दुई केन्द्रीय सदस्य पुनःनेपाल समूहमै खुलेका छन् । केन्द्रीय सदस्यद्वय सोमप्रसाद पाण्डे र राजन राई दल दर्ताको लागि सनाखत गर्ने अघिल्लो दिन निर्वाचन आयोगमा गएर नेपाल समूहमै रहेको पत्र बुझाएका हुन् ।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले पहिले छुटेको भन्दै नेताहरुले आज निवेदन दिएको बताए । निवेदन दिए पनि उनीहरुले सनाखतमा भाग लिन नपाउने अधिकारीको भनाइ छ । ‘आज केही नेताहरुले पहिले छुटेको भन्दै हस्ताक्षरसहित निवेदन दिनुभएको छ,’ उनले भने, ‘तर, उहाँहरुले सनाखत प्रक्रियामा भाग लिन पाउनुहुँदैन । अहिलेको अध्यादेश अनुसार दल दर्ताको लागि निवेदन दिँदा नाम हस्ताक्षर उल्लेख भए मात्रै सनाखतमा सहभागी हुन पाउने व्यवस्था छ । त्यसैले उहाँहरुले सनाखत गर्न पाउनुहुँदैन ।’
उनले भारतको नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालले पनि सनाखत गर्न नमिल्ने बताए । ‘उहाँ (झलनाथ खनाल)को हकमा पनि त्यही हो । अस्ति निवेदन दिँदा हस्ताक्षर थिएन । त्यही पनि कानुनी व्यवस्था नै आयोगमा सशरीर उपस्थित भएर सनाखत गराउनुपर्ने भन्ने छ,’ उनले भने ।
खनालले भारतस्थित नेपाली दूतावासमा सनाखत गर्ने व्यवस्था गरिदिन आग्रह गर्दै आयोगलाई पत्र लेखेका थिए । निर्वाचन आयोगले भोलि (बुधबार) नयाँ दल दर्ताको लागि सनाखत गर्न भन्दै बोलाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया