प्रदेश २ का कानुनमन्त्रीले नयाँ गाडी किन्न मागे ३ करोडभन्दा बढी रकम
जनकपुरधाम– प्रदेश–२ सरकारका मन्त्रीहरूको बिलासिता बढ्दै गएको छ । गाडी छँदाछदै प्रदेश सरकारका केही समयअघि नियुक्त आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले नयाँ गाडी किन्न अर्थ मन्त्रालयसँग रकम मागेका छन् । उक्त मन्त्रालयलमा ८ वटा गाडी छन् । तर गाडी किन्न अर्थ मन्त्रालयसँग ३ करोड ७ लाख रुपैया मागेका हुन् ।
मन्त्रालयमा ८ वटा गाडीमध्ये मन्त्री साह र राज्यमन्त्री रुबी कर्णलाई चढ्न दुई वटा सफारी, सचिवका लागि टोयोटा, अन्य कर्मचारीको प्रयोगका लागि एउटा स्कार्पियो, एउटा टाटा सुमो र दुई वटा पिकअप भ्यान गरी ७ वटा गाडी छ । अनि पूर्व राज्यमन्त्री सरोजसिंह कुशवाहा पदबाट हटे पनि गाडी फिर्ता भएको छैन । तिनले भेन्यु भन्ने गाडी प्रयोगमा लगेका छन् ।
मन्त्रीले चढ्ने गाडी सफारी दुई वर्षअघि किनिएको थियो । अर्थमन्त्रालय श्रोतका अनुसार, गाडी छँदाछँदै मन्त्री साहले थप ३ वटा गाडी किन्न ३ करोड ७ लाख रुपैयाँ मागेका हुन् ।अर्थ मन्त्रालयका अनुसार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट थप तीन वटा गाडी किन्न मन्त्री साहकै तोक आदेशमा रकम मागको पत्र आएको छ । तर अर्थ मन्त्रालयले मन्त्रिपरिषदको निर्णयबेगर निकासा गर्न नसकिने भनी उक्त फाइल अड्काएको छ ।
गाडी मात्र होइन, नयाँ मोबाइल किन्न २ लाख ५० हजार रुपैयाँसहित निवासका लागि एसी र फर्निचर लगायतका सामाग्री किन्न समेत रकम मागिएको छ ।मन्त्री साहसँग ईकागज संवाददाताले गाडी छदाँछदै किन नयाँ खरिद लागिएको भन्ने जिज्ञासामा राखेको थियो । त्यसमा मन्त्री साहले स्पष्ट जवाफ दिन चाहेनन् । उनले भने, ‘हामी किन्ने हो वा होइन, यो कुरा हामीसँग होइन मन्त्रालयको सम्बन्धित शाखासँग जवाफ माग्नुस् ।’
सम्बन्धित शाखासँग जिज्ञासा राख्दा त्यहाँका कर्मचारीको जवाफ थियो, ‘मन्त्रीज्यूले के गर्नुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन । चर्चा त हामीले पनि सुनेका छौँ । तर आधिकारिक जानकारी आएको छैन । मन्त्रीसँग सोध्ने हामी कर्मचारीको हैसियत पनि छैन ।’पछिल्लो महिना सरकारमा नेकपा माओवादी केन्द्रलाई सहभागी गराउन जसपाबाट ज्ञानेन्द्र यादवलाई मन्त्री पदबाट हटाएर साहलाई मन्त्रीमा नियुक्त गरिएको थियो । राज्यमन्त्री कुशवाहाको ठाउँमा माओवादीकै रुबी कर्णलाई नियुक्त गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया