राजनीति

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विप्लव समूहको प्रदर्शन

इकागज |
भदौ ९, २०७८ बुधबार १८:२९ बजे

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको शान्तिवाटीकामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नारा लगाएका थिए । त्यस्तै प्रदर्शनमा सहभागीहरुले मूल्यबृद्धि नियन्त्रण गर, बैज्ञानिक समाजवाद स्थापना गर, सरकार फेरिए जनजिविका फेरिएन लगाएतका प्लेकार्ड प्रर्दशन गरेका छन् ।


प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका नेता माइला लामाले घाटामा रहेपनि निगमका कर्मचारीले बोनस खाने तयारी गरेको आरोप लगाए । उनले निगमलाई लगाइएको कर हटाएर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउनुपर्ने बताए । निगमलाई भ्रष्टाचारको अखडा बनाएर नेपालका प्रशासक र मन्त्रीहरुले समेत निगमबाट कमिसन लिइरहेको उनको आरोप छ ।

सोमबार निगमले पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो । त्यस्तै नेकपाले दार्चुलामा जयसिंह धामीको मृत्युको घटनामा सरकार मौन रहेको भन्दै विरोध जनाएको छ । 


Author

थप समाचार
x